काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान राजनीतिक व्यवस्थालाई ‘वालेन्द्रतन्त्र’को संज्ञा दिएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पाएको १८२ सिटलाई ‘काँचको घर’को संज्ञा दिँदै सत्तापक्षलाई अहंकार र उत्ताउलोपन प्रदर्शन नगर्न चेतावनी दिएका हुन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले रास्वपाका सांसदहरूलाई राजनीतिक शक्ति अस्थायी हुन सक्ने भन्दै संयमित भएर अघि बढ्न आग्रह गरे।
‘रास्वपाका आदरणीय मित्रहरूलाई १८२ तले काँचको घरमा बसेर अहंकार र उत्ताउलोपन प्रदर्शन नगर्न, साथै प्रतिपक्षी नागरिकमाथि ढुंगा प्रहार नगर्न विनम्र आग्रह गर्न चाहन्छु,’ थापाले भने।
‘लोकतान्त्रिक दल एकजुट भए काँचको घर ढल्छ’
थापाले रास्वपाले प्राप्त गरेको राजनीतिक शक्ति आफ्नै बलमा मात्र स्थायी नभएको दाबी गरे। लोकतान्त्रिक दलहरूबीच एकता र सहकार्य कायम भए वर्तमान राजनीतिक संरचना ढल्ने उनको चेतावनी छ।
‘हेक्का रहोस्, यो सिसाको घर तपाईंहरूको रगत–पसिनाको जगमा उभिएको छैन,’ उनले भने, ‘जुन दिन लोकतान्त्रिक दलहरूले आफ्ना आन्तरिक विभाजनलाई मजबुत मोर्चा र एकतामा परिणत गर्नेछन्, यो गर्ल्यामगुर्लुम ढल्नेछ, चकनाचुर हुनेछ।’
उनको अभिव्यक्तिले सत्तापक्ष र प्रतिपक्षबीचको राजनीतिक दूरी तथा पछिल्लो सत्ता समीकरणप्रति एमालेको असन्तुष्टिलाई संकेत गरेको छ।
सरकारमाथि निरंकुशताको आरोप
थापाले वर्तमान सरकारमाथि छोटो समयमै निरंकुश शासनका पुराना रेकर्डसमेत तोडेको आरोप लगाए। उनले सरकारका पछिल्ला गतिविधिले लोकतान्त्रिक मूल्य र संस्थामाथि प्रश्न उठाएको दाबी गरे।
उनका अनुसार सरकारको कार्यशैलीप्रति प्रतिपक्षी दलहरू गम्भीर हुनुपर्ने अवस्था आएको छ।
थापाले लोकतान्त्रिक शक्तिहरूबीचको आन्तरिक विभाजनलाई अन्त्य गरी बलियो राजनीतिक मोर्चा निर्माण गर्नुपर्नेमा जोड दिए। उनले यस्तो एकता कायम भए वर्तमान राजनीतिक संरचनालाई चुनौती दिन सकिने दाबी गरे।
प्रतिनिधिसभामा थापाको अभिव्यक्तिले सरकारको राजनीतिक चरित्र, रास्वपाको संसदीय बहुमत र प्रतिपक्षी दलहरूको भावी रणनीतिबारे बहसलाई थप तीव्र बनाएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्