काठमाडौँ — प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकको तयारी भइरहेका बेला आज सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक एकैसाथ बस्दैछ। प्रतिनिधिसभाको बैठक भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तय भएकाले समितिहरूले आफ्ना एजेन्डामाथिको छलफललाई तीव्र बनाएका हुन्।
आज बस्ने समितिहरू, तिनको समय र मुख्य कार्यसूची निम्न अनुसार रहेका छन्:
-
अर्थ समिति (बिहान ११:०० बजे): ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल जारी रहनेछ। बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ।
-
अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति (बिहान ११:०० बजे): ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायतका सरोकारवाला निकायहरूसँग परामर्श गरिनेछ।
-
राज्य व्यवस्था तथा सुशासन समिति (बिहान ११:०० बजे): अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई बोलाएर आयोगको समग्र काम कारबाहीबारे छलफल गरिनेछ।
-
कृषि तथा प्राकृतिक स्रोत समिति (बिहान १०:०० बजे): जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री वितरणमा सुधार गर्दै रासायनिक मलको प्रयोग घटाउने विषयमा मल उत्पादकहरूसँग छलफल हुनेछ।
-
पूर्वाधार विकास समिति (बिहान १०:०० बजे): अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत सञ्चालित बागमती ब्युटिफिकेसन आयोजनाबारे समीक्षा गरिनेछ।
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति (बिहान १०:०० बजे): ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुने कार्यसूची छ।
-
सार्वजनिक लेखा समिति (बिहान १०:०० बजे): नेपालले प्राप्त गर्ने वैदेशिक सहायता र त्यसको लेखापरीक्षणसम्बन्धी विषयमा छलफल हुनेछ।
-
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति (बिहान १०:०० बजे): समितिमा परेका विभिन्न उजुरीहरूमाथि छलफल चलाइनेछ।
-
विधायन व्यवस्थापन समिति (अपराह्न १:०० बजे): विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष तथा कार्यकारी निर्देशकसँग छलफल हुनेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्