पोखरा । विश्वकै सर्वाधिक उचाइमा रहेको दाबी गरिएको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण यही भदौ १५ गते आयोजना हुने भएको छ। प्रतियोगिता १८ होलमा स्टेबलफोर्ड ढाँचामा खेलाइने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता, उपविजेता, बेस्ट ग्रस, महिला विजेता, क्लोजेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ र सिनियर विजेतालगायत विभिन्न विधामा ट्रफी प्रदान गरिनेछ। यस वर्ष पनि ‘होल इन वान’ गर्ने खेलाडीलाई मुस्ताङको रैथाने घोडा पुरस्कार दिइने भएको छ। आयोजकले यसलाई गल्फ प्रतियोगिताकै मौलिक र आकर्षक पुरस्कारका रूपमा प्रस्तुत गरेको छ।
प्रतियोगिताका लागि प्रदान गरिने ट्रफी नेपालकै पाटनमा उत्पादन गरिएको आयोजकले जनाएको छ। प्रतियोगितालाई लोमान्थाङ गाउँपालिका, प्रभु बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर, माछापुच्छ्रे बैंक, सोनम गियर, सोल्टी पानी र गोर्खा हिल्सलगायत विभिन्न संघसंस्थाले सहयोग गरेका छन्। प्रतियोगितामा सहभागी हुने खेलाडीले आफ्नै खर्चमा मुस्ताङ पुग्नुपर्नेछ।
बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। यस वर्ष प्रतियोगितालाई ‘टि फर क्लाइमेट’ भन्ने विशेष नारासहित आयोजना गरिँदैछ।
संयोजक तथा गण्डकी प्रदेशका पूर्वसांसद इन्द्रधारा विष्टका अनुसार विश्वकै उच्च स्थानबाट हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने र जलवायु सचेतना फैलाउने उद्देश्यले ‘टि फर क्लाइमेट’ अवधारणा अघि सारिएको हो।
प्रतियोगिताको प्रो विधातर्फ नेपालका उत्कृष्ट पाँच गल्फरले प्रतिस्पर्धा गर्नेछन्। प्रथम हुने खेलाडीलाई ‘नेपाल मास्टर’ घोषणा गर्दै ७५ हजार रुपैयाँ नगदसहित ‘मास्टर कोट’ प्रदान गरिनेछ। दोस्रो हुनेले ५० हजार तथा तेस्रोदेखि पाँचौँ स्थानसम्म रहने खेलाडीले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
एमेच्योरतर्फ १० महिला र ४० पुरुष गरी ५० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको अर्को मुख्य उद्देश्य मुस्ताङ गल्फ कोर्सलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आधिकारिक रूपमा दर्ता गराउने रहेको विष्टले बताए। उनका अनुसार रेकर्ड दाबीका लागि आवश्यक प्रारम्भिक आधार तथा प्रमाण तयार भइसकेका छन्।
गिनिज वल्र्ड रेकर्ड्सको टोलीसँग इमेलमार्फत नियमित संवाद भइरहेको भए पनि समय र कार्यतालिका नमिलेका कारण यसपटक टोली नेपाल आउन नसकेको आयोजकले जनाएको छ। व्यावसायिक गल्फरहरूको सहभागितासहितको प्रतियोगिताले गिनिज रेकर्डको दाबी प्रक्रियालाई थप बलियो बनाउने आयोजकको विश्वास छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्