पोखरा । पोखरा–९, नयाँबजारस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय कारोबार क्रमशः लयमा फर्किन थालेको छ। संस्थाले कर्जा असुलीलाई प्राथमिकता दिँदै बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
२०८२ असार मसान्तसम्म संस्थामा ४१ करोड ३९ लाख रुपैयाँ बचत रहेकोमा २०८३ साउन मसान्तसम्म आइपुग्दा बचत रकम २६ करोड २९ लाख रुपैयाँमा झरेको छ। संस्थाले गत वर्ष आफ्ना सेयर सदस्यलाई १५ करोड १० लाख रुपैयाँ बचत फिर्ता गरेको जनाएको छ।
२०६८ वैशाख १२ गते स्थापना भएको पोखरा बचत तथा ऋण सहकारीमा हाल ६८० सेयर सदस्य छन्। संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर गोदारका अनुसार विभिन्न ऋणी सदस्यबाट कर्जा असुल गरी त्यही रकमबाट बचत फिर्ता तथा मिलान गरिएको हो।
संस्थाले बचत खातामा एक लाख रुपैयाँभन्दा कम मौज्दात रहेका सदस्यको सम्पूर्ण रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि सूचना जारी गर्दै आएको र अब त्यस्ता बचतकर्ता २१७ जना मात्र बाँकी रहेको संस्थाले जनाएको छ।
कर्जा लगानीतर्फ पनि संस्थाले उल्लेख्य रकम असुल गरेको छ। २०८२ असार मसान्तसम्म सदस्यलाई ५४ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेकोमा २०८३ साउन मसान्तसम्म १८ करोड ९८ लाख रुपैयाँ असुल भएको छ। हाल संस्थाको कर्जा लगानी ३५ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ।
कर्जा असुलीका क्रममा धितो सुरक्षणबापत दृष्टिबन्धक लिखत पारित गरी संस्थामा राखिएका करिब १२ करोड रुपैयाँ बराबरका गैरबैंकिङ सम्पत्ति पनि संस्थासँग रहेको अध्यक्ष गोदारले बताए। आवश्यकता अनुसार ती चल–अचल सम्पत्ति इच्छुक बचतकर्ता तथा अन्य व्यक्तिलाई बिक्री गरी त्यसबाट प्राप्त रकमसमेत बचतकर्तालाई फिर्ता गर्ने योजना रहेको उनले जानकारी दिए।
संस्थाको बाह्य कर्जा सापटीसमेत घटेको छ। २०८२/८३ मा ६ करोड ९३ लाख रुपैयाँ रहेको बाह्य कर्जा सापटी हाल ३ करोड ४० लाख रुपैयाँमा झरेको संस्थाले जनाएको छ।
विगतमा वित्तीय तरलताका कारण सहकारीमा असहज अवस्था सिर्जना भएको थियो। त्यसपछि नियामक निकाय, स्थानीय प्रशासन, सर्वाधिकार सम्पन्न विशेष समितिका संयोजक गञ्जमान गुरुङ तथा सल्लाहकार किरण श्रेष्ठको सहयोगमा कर्जा असुलीलाई विशेष प्राथमिकता दिइएको संस्थाले जनाएको छ।
संस्थाले यही भदौ २० गते २७औँ वार्षिक साधारणसभा गर्ने तयारी गरेको छ। अध्यक्ष गोदारका अनुसार चालु वर्षभित्रै बचतकर्ताको मागअनुसार बचत व्यवस्थापन गरी संस्थाको नियमित कारोबारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्