बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–१ भगवती टोलमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। घरभित्र पसेको चितुवाले आक्रमण गर्दा स्थानीय लालेन्द्रकुमार पुन घाइते भएका हुन्।
स्थानीय ध्रुव श्रेष्ठको घरगोठ नजिकै रहेको खरायोको खोरमा चितुवा पसेर चार वटा खरायो मारेपछि घटना बाहिर आएको हो। बिहान खोरनजिकै चार वटा खरायो मृत अवस्थामा देखेपछि श्रेष्ठले खोरभित्र हेर्दा रगतले लतपतिएको चितुवा सुतिरहेको अवस्थामा भेटेका थिए।
श्रेष्ठले खेतीपातीका लागि करिब ४० वटा खरायो पालेका छन्। उनको घरनजिकै बुर्तिबाङ सल्लेरी सामुदायिक वन रहेकाले यस क्षेत्रमा यसअघि पनि कुखुरा, खरायो तथा कुकुर हराउने वा मृत भेटिने गरेको स्थानीयले बताएका छन्। चितुवाले खोरमा लगाइएको जाली च्यातेर भित्र पसेको थियो।
स्थानीय र प्रहरीले होहल्ला गरेपछि चितुवा खोरबाट भागेको थियो। त्यसपछि स्थानीयले खेतबारी तथा झाडी क्षेत्रमा खोजी गरे पनि चितुवा फेला परेको थिएन। केही समयपछि चितुवा लालेन्द्रकुमार पुनको घरभित्र पसेको देखिएको थियो।
आफ्नो घरमा चितुवा पसेको जानकारी पाएर घर पुगेका पुनमाथि चितुवाले आक्रमण गरेको थियो। आक्रमणबाट उनको हात र खुट्टामा चोट लागेको छ। त्यसपछि उनले घरको ढोका लगाएर आफूलाई सुरक्षित राख्दै नजिकैको मेडिकलमा उपचार गराएका थिए। चितुवा भने कोठाभित्रै थुनिएको थियो।
घटनापछि सबडिभिजन वन कार्यालय बुर्तिबाङका प्रमुख सारिका लामिछानेसहित जिल्ला तथा प्रदेश वन कार्यालयको टोली घटनास्थल पुगेको थियो। टोलीले दिउँसो चितुवालाई नियन्त्रणमा लिएको हो।
स्थानीय ध्रुव श्रेष्ठका अनुसार यसअघि पनि साउन दोस्रो सातातिर उनको खोरमा केही खरायो मृत भेटिएका थिए। चितुवा खरायो खान पल्किएको हुन सक्ने उनको अनुमान छ।
ढोरपाटन नगरपालिका–१ का वडाध्यक्ष बानबहादुर छन्त्यालले सामुदायिक वन नजिकै भएकाले यस क्षेत्रमा कहिलेकाहीँ जंगली जनावर देखिने गरे पनि बस्तीभित्रै चितुवा पसेको घटना पहिलो पटक भएको बताए।
डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीका अनुसार नियन्त्रणमा लिइएको चितुवालाई पोखरास्थित पचभैयाँ वन्यजन्तु उद्धार केन्द्रमा लगिनेछ। स्वास्थ्य परीक्षणपछि चितुवालाई पुनः प्राकृतिक वासस्थानमा छाडिने उनले जानकारी दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्