बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनापछि बारा तनावग्रस्त बनेको छ। दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयवासीले बिहीबार पनि प्रदर्शन जारी राखेका छन्।
जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुरेकी गरिमा चौधरीको हत्या भएको विरोधमा स्थानीयले पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर सडक अवरुद्ध गरेका हुन्। सडक अवरोधका कारण वीरगन्ज–पथलैया खण्डमा सयौं सवारीसाधन रोकिँदा यात्रुहरू अलपत्र परेका छन्।
स्थानीयवासीले बुधबार बिहानदेखि नै प्रदर्शन सुरु गरेका थिए। पीडित परिवार र स्थानीयले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गर्दै आएका छन्।
साउन ३१ गतेदेखि बेपत्ता थिइन् गरिमा
तीन वर्षीया गरिमा चौधरी साउन ३१ गतेदेखि बेपत्ता भएकी थिइन्। प्रहरीले अनुसन्धानका क्रममा उनको सोही दिन हत्या भएको पुष्टि गरेको जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। तर पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन। घटनाको कारण र हत्याको विस्तृत पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘दोषीलाई कडा कारबाही हुनुपर्छ’
बालिकाको हत्या जस्तो गम्भीर घटनामा दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान, वास्तविक दोषीको पहिचान र कडा सजायको माग गरेका छन्।
प्रदर्शनकारीले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। सडक अवरुद्ध भएपछि यात्रु तथा लामो दूरीका सवारीसाधन प्रभावित भएका छन्।
बालिकाको हत्या घटनाले स्थानीय समुदायमा त्रास र आक्रोश बढाएको छ। प्रहरीले पक्राउ परेका दुईजनामाथि अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ भने घटनाको वास्तविक कारण र अन्य सम्भावित संलग्न व्यक्तिबारे पनि अनुसन्धान भइरहेको बताइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्