काठमाडौं । आज विश्व लामखुट्टे दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम न्यूनीकरण र जनचेतना अभिवृद्धिका लागि दिवस मनाउन लागिएको हो।
लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिसजस्ता गम्भीर रोग लाग्ने गर्छ। नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे रहेको पुष्टि भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत वर्ष लामखुट्टे तथा कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए।
जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान विस्तार हुँदै जाँदा पछिल्लो समय उच्च हिमाली क्षेत्रसमेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिममा पर्न थालेको विभागले जनाएको छ।
कीटजन्य रोग नियन्त्रणका लागि विभागले सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी रोगको पहिचान, निगरानी तथा नियन्त्रणका विभिन्न काम गर्दै आएको जनाएको छ।
कीट रोग नियन्त्रण शाखाका प्रमुख डा. गोवर्ण दाहालका अनुसार पछिल्लो समय नेपालका ५६ जिल्लामा कीटजन्य रोग देखापरिसकेको छ। लामखुट्टेको टोकाइबाट बच्न घर तथा वरपर पानी जम्न नदिने, झुलको प्रयोग गर्ने र शरीर ढाक्ने कपडा लगाउनेजस्ता सावधानी अपनाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्