सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री यामलाल कँडेलले प्रदेशमा देखिएको असहज परिस्थितिमा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्ने बताएका छन्। उनले वर्तमान संघीय सरकारको कार्यशैलीप्रति व्यंग्य गर्दै ‘चुपचाप सरकार कहाँ छ ?’ भन्दै प्रश्न गरेका छन्।
कर्णाली प्रदेश स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै कँडेलले प्रदेशमा जटिलता र असहज अवस्था देखिँदा सरकार चुप लागेर बस्न नहुने बताए।
उनले संकटका बेला जनताले सरकारको उपस्थिति र नेतृत्व अनुभूति गर्नुपर्ने भन्दै शासन सञ्चालनमा राजनीतिक नेतृत्व थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
संघीय सरकारको कार्यशैलीप्रति प्रश्न
कँडेलले पछिल्लो समय संघीय सरकारका प्रतिनिधिबाट प्रदेशका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई थुन्ने, घेराबन्दी गर्ने वा नियन्त्रणमा लिने खालका अभिव्यक्ति आउनु संघीय लोकतान्त्रिक व्यवस्थाका लागि उचित नभएको बताए।
यस्ता अभिव्यक्ति र गतिविधिले संविधान तथा संघीयताको मर्ममाथि नै प्रश्न उठाउने उनको भनाइ छ।
प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई कमजोर बनाउने वा नियन्त्रणमा राख्ने मानसिकताले संघीयताको संस्थागत विकासमा असर पार्ने भन्दै कँडेलले सरकारलाई आफ्नो भूमिका प्रभावकारी बनाउन आग्रह गरे।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्