म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारमा रहेको भगवती मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई पश्चिम म्याग्दीको सामाजिक विकास, शिक्षाको सुरुआत, बसाइँसराइ र सांस्कृतिक परम्पराको इतिहाससँग जोडिएको महत्वपूर्ण धरोहरका रूपमा स्थापित भएको छ।
स्थानीय ८३ वर्षीय भिमेन्द्र गौचनका अनुसार भगवती मन्दिरले पुस्तौँदेखि दरवाङ र आसपासको समाजले भोग्दै आएको सामाजिक तथा सांस्कृतिक परिवर्तनको कथा बोकेको छ। चैत्राष्टमी र नवदुर्गामा विशेष पूजा हुने यो मन्दिर स्थानीय समुदायको साझा आस्थाको केन्द्रसमेत हो।
मन्दिरको स्थापना विसं २००० सालमा शेरबहादुर शेरचनले सन्तान प्राप्तिको कामना गर्दै गरेका थिए। पछि छोरा ओमप्रकाश शेरचनको विसं २००७ सालमा जन्म भएपछि आफ्नो मनोकामना पूरा भएको विश्वास गर्दै उनले मन्दिर गाउँ समाजलाई हस्तान्तरण गरेका थिए। त्यसपछि मन्दिर निजी नभई समुदायको साझा धार्मिक धरोहरका रूपमा विकसित हुँदै आएको स्थानीय अगुवाहरू बताउँछन्।
हाल मन्दिरको संरक्षण तथा रेखदेख शेरबहादुरका नाति दोरन शेरचनले गर्दै आएका छन्। ए डिभिजन फुटबल क्लब जाउलाखेलबाट लामो समय फुटबल खेलेका दोरनले बाजेले स्थापना गरेको धार्मिक धरोहरको संरक्षणलाई निरन्तरता दिएका हुन्।
तीन पुस्तादेखि एउटै परिवारमा पूजा
भगवती मन्दिरको अर्को विशेषता तीन पुस्तादेखि एउटै परिवारले पुजारीको जिम्मेवारी सम्हाल्दै आउनु हो।
मन्दिर स्थापना भएपछि मराङबाट टिकाराम उपाध्यायलाई ल्याएर पूजाआजाको जिम्मेवारी दिइएको थियो। त्यसपछि उनका छोरा जयश्वर सुवेदीले जिम्मेवारी सम्हाले। हाल जयश्वरका छोरा जीवनाथ सुवेदी मन्दिरका पुजारी छन्।
पुजारी जीवनाथका अनुसार पुस्ता परिवर्तन भए पनि मन्दिरको पूजा, परम्परा र धार्मिक आस्थामा निरन्तरता कायम छ।
बसाइँसराइसँग जोडिएको इतिहास
भगवती मन्दिरको इतिहास दरवाङमा भएको पुरानो बसाइँसराइसँग पनि जोडिएको छ।
गौचनका अनुसार विसं १९७९ मा निस्कोटबाट आएको पहिरोमा करिब तीन सय जनाको ज्यान गएपछि त्यस क्षेत्रबाट मानिसहरू सुरक्षित स्थानतर्फ सर्न थालेका थिए। उनका बाबु तेजबहादुर गौचन विसं १९९१ मा दरवाङ आएका थिए भने शेरबहादुर शेरचन र जगतबहादुर तुलाचन विसं १९९२ मा दरवाङमा बसाइँ सरेर आएका थिए।
नयाँ बस्ती विस्तार गर्ने क्रममा धार्मिक तथा सामाजिक एकताको आधारका रूपमा भगवती मन्दिर निर्माणलाई प्राथमिकता दिइएको स्थानीयवासीको भनाइ छ।
मन्दिरसँगै सुरु भएको शिक्षाको यात्रा
भगवती मन्दिरको इतिहास केवल धर्ममा सीमित छैन। पश्चिम म्याग्दीको शैक्षिक विकाससँग पनि यसको प्रत्यक्ष सम्बन्ध छ।
मन्दिरकै जग्गामा शेरचन परिवारको अग्रसरतामा विसं २००८ साल मंसिरमा जनप्रिय विद्यालय स्थापना गरिएको थियो। अहिले यही विद्यालय पश्चिम म्याग्दीको प्रमुख शैक्षिक केन्द्रका रूपमा स्थापित छ।
मन्दिरसँग जोडिएको जग्गामा विद्यालय स्थापना हुनु त्यस समय धार्मिक आस्थासँगै शिक्षालाई पनि समुदायको विकासको आधार बनाउने सोचको उदाहरणका रूपमा स्थानीयवासीले लिने गरेका छन्।
गौचन स्वयं जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन्। उनले विद्यालयलाई व्यवस्थित बनाउन विसं २०३३ सालदेखि लगातार १६ वर्ष र पछि थप तीन वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा नेतृत्व गरेका थिए।
नदी कटानपछि पुनःनिर्माण
म्याग्दी नदीको कटानका कारण पुरानो मन्दिरमा क्षति पुगेपछि नयाँ संरचना निर्माण गरिएको थियो। भिमेन्द्र गौचनको अध्यक्षतामा विसं २०५२ सालमा नयाँ मन्दिर निर्माण सम्पन्न भएको थियो।
यससँगै मन्दिरको संरक्षण र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने प्रयास हुँदै आएको छ।
धार्मिक धरोहरसँगै पर्यटकीय सम्भावना
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा भगवती मन्दिर धर्म, इतिहास, शिक्षा, समाज र संस्कृतिको दुर्लभ संगम भएको बताउँछन्।
मालिका–६ का वडाध्यक्ष पथबहादुर रोका पनि दरवाङ भगवती मन्दिर ऐतिहासिक महत्वको स्थल भएकाले यसको संरक्षण र प्रचार आवश्यक रहेको बताउँछन्।
उनका अनुसार मन्दिरलाई मालिका गाउँपालिकाको मात्र नभई समग्र म्याग्दी जिल्लाकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गौरवका रूपमा विकास गर्न सकिन्छ।
करिब एक शताब्दीभन्दा लामो इतिहास बोकेको दरवाङको भगवती मन्दिर आज पनि नियमित पूजाआजा हुने धार्मिक स्थलका रूपमा जीवित छ। तर यसको महत्व पूजा र धार्मिक आस्थामा मात्र सीमित छैन। दरवाङमा बस्ती विस्तारदेखि शिक्षा स्थापनासम्मको यात्रालाई नजिकबाट नियालेको यो मन्दिर पश्चिम म्याग्दीको सामाजिक इतिहासको एउटा महत्वपूर्ण दस्तावेजसमेत बनेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्