काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो विकास तथा हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने उद्देश्यले हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल)सँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
सहकार्यले नेपालका सूक्ष्म उद्यमी, कृषक तथा युवाद्वारा सञ्चालित हरित व्यवसायको वित्तीय पहुँच विस्तार गर्नुका साथै उद्यम विकास र मूल्य शृङ्खला सुदृढीकरणमा सहयोग गर्ने लक्ष्य राखेको छ ।
समझदारीपत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले आफ्नो वित्तीय तथा प्राविधिक अनुभवलाई उपयोग गर्दै समावेशी आर्थिक विकास र हरित उद्यम प्रवर्द्धनमा सहकार्य गर्ने जनाइएको छ ।
कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यम विकासमा सक्रिय व्यवसाय तथा उद्यमीलाई वित्तीय स्रोत र व्यावसायिक क्षमता विकासमा सहयोग गरिने बताए । बैंकको वित्तीय विशेषज्ञता र हेल्भेटास नेपालको अनुभवले सम्भावनायुक्त हरित व्यवसायलाई रोजगारी सिर्जना, नवप्रवर्तन तथा स्थानीय आर्थिक विकासको आधारका रूपमा विकास गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
वित्तीय पहुँच र क्षमता विकास
सहकार्यअन्तर्गत वित्तीय संस्था, उद्यमी, कृषक तथा हरित मूल्य शृङ्खलामा आबद्ध सरोकारवालाबीच प्रभावकारी सम्बन्ध विस्तार गरिनेछ । उद्यमीले प्राप्त वित्तीय स्रोतलाई प्रभावकारी रूपमा परिचालन तथा व्यवस्थापन गर्न सक्ने क्षमता विकासमा समेत जोड दिइनेछ ।
यसबाट समावेशी, दिगो तथा उत्थानशील उद्यम विकासलाई प्रोत्साहन गर्दै नेपालको हरित अर्थतन्त्र विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कुमारी बैंकको सेवा सञ्जालमार्फत विस्तार
बैंकले आफ्ना २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २३३ भन्दा बढी पीओएस टर्मिनलमार्फत लक्षित समुदायमा पहलहरू विस्तार गर्ने जनाएको छ ।
बैंकले ग्राहकमुखी नवप्रवर्तन, उत्तरदायी बैंकिङ तथा दिगो वित्तीय अभ्यासलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
हेल्भेटास नेपालसँगको सहकार्यबाट हरित उद्यमको विकास, मूल्य शृङ्खला सुदृढीकरण, रोजगारी सिर्जना तथा जलवायु–उत्थानशील आर्थिक प्रणाली निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्