काठमाडौं । भाटभटेनी ग्रुपको मुख्य लगानी रहेको काठमाडौं स्टिल प्रालिले नवलपरासीको तिलकपुरस्थित नयाँ प्लान्टबाट उत्पादन सुरु गर्ने तयारी गरेको छ। उद्योगले क्षमता विस्तारका लागि १ अर्ब ५० करोड रुपैयाँ थप लगानी गरेको हो।
थप लगानीसँगै काठमाडौं स्टिलमा कुल लगानी २ अर्ब ५० करोड रुपैयाँ पुगेको उद्योगका उपाध्यक्ष किरणकुमार श्रेष्ठले जानकारी दिए।
२०६८ सालमा स्थापना भएको काठमाडौं स्टिलले २०७० सालदेखि छड उत्पादन गर्दै आएको छ। यसअघि भारतबाट बिलेट आयात गरी छड उत्पादन गर्दै आएको उद्योगले हाल वार्षिक करिब ६० हजार टन छड उत्पादन गर्दै आएको छ। नयाँ प्लान्ट सञ्चालनमा आएपछि वार्षिक १ लाख ५० हजार टन छड उत्पादन गर्ने लक्ष्य राखिएको छ।
स्पन्ज आइरनबाटै बिलेट उत्पादन
बिलेट आयात गरेर छड उत्पादन गर्दा लागत र मूल्यका हिसाबले प्रतिस्पर्धा गर्न कठिन भएपछि उद्योगले स्पन्ज आइरनबाट आफैँ बिलेट उत्पादन गर्ने प्रविधि जडान गरेको छ।
बिलेट आयात गर्दा ५ प्रतिशत भन्सार लाग्ने भए पनि बिलेट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दा २.५ प्रतिशत मात्रै भन्सार लाग्ने भएकाले उत्पादन लागत घटाउन आफ्नै बिलेट उत्पादन गर्ने निर्णय गरिएको श्रेष्ठले बताए।
‘हामीले सुरुमा बिलेटबाट उत्पादन गरिरहेका थियौँ। तर बिलेटमा प्रतिस्पर्धा गर्न त्यति सफल हुन सकेनौँ। भन्सार दरको फरकका कारण आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भयो,’ उनले भने, ‘बजारमा प्रतिस्पर्धा गर्ने हो भने हामीले पनि सोहीअनुसारको बाटो समात्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौँ।’
उनका अनुसार स्पन्ज आइरनबाट बिलेट उत्पादन गरी त्यसैबाट छड बनाउने गरी करिब दुई वर्षअघि नयाँ प्लान्ट स्थापना गर्ने निर्णय गरिएको थियो। उद्योगको नवलपरासीमा आफ्नै ६ बिघा जग्गा रहेको छ।
ग्राहकको मागअनुसार गुणस्तरको छड
नयाँ प्लान्टमा ग्राहकको मागअनुसार गुणस्तर कायम गरी छड उत्पादन गर्न सकिने प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ।
काठमाडौं स्टिलका प्रमुख कार्यकारी अधिकृत केशव पोखरेलका अनुसार नयाँ प्रविधिको मुख्य विशेषता कच्चा पदार्थको केमिस्ट्री नियन्त्रण गरी आवश्यकताअनुसार गुणस्तर कायम गर्न सक्नु हो।
उनका अनुसार प्लान्टले अन्तर्राष्ट्रिय स्तरका स्टिल उत्पादकले उत्पादन गर्ने गुणस्तरको सामग्री उत्पादन गर्न सक्ने क्षमता राख्छ।
नेपालमै कपलर उत्पादन
काठमाडौं स्टिलले डन्डी जोड्न प्रयोग हुने कपलर उत्पादन गर्ने प्लान्टसमेत जडान गरेको छ। कम्पनीका अनुसार नेपालमा पहिलोपटक आफूहरूले कपलर उत्पादन गर्न लागेका हुन्।
यसअघि कम्पनीले न्युजिल्यान्डबाट कपलर आयात गरी बिक्री गर्दै आएको थियो। कपलर प्रयोग गरेपछि डन्डीलाई बाइन्डिङ वायरले बाँधेर जोड्नुपर्ने बाध्यता हट्ने कम्पनीको भनाइ छ।
कपलरमार्फत एउटा डन्डीलाई अर्को डन्डीसँग सिधै जोड्न सकिन्छ। यसबाट डन्डी काट्दा बाँकी रहने टुक्रा खेर जाने समस्या कम हुने कम्पनीले जनाएको छ।
पोखरेलका अनुसार निर्माणस्थलमा डन्डी काट्दा वा टुक्रा पर्दा खेर जाने सामग्रीमध्ये करिब ८० प्रतिशतसम्म बचत गर्न सकिन्छ। पुल तथा ठूला संरचना निर्माणमा कपलरको विशेष उपयोगिता हुने उनको भनाइ छ।
कपलर अन्तर्राष्ट्रिय रूपमा स्वीकृत प्रविधि रहे पनि नेपालमा यसका लागि छुट्टै राष्ट्रिय मापदण्ड नभएकाले कम्पनीले सम्बन्धित निकायसँग आवश्यक मापदण्ड निर्माणका लागि पहल गरिरहेको जनाएको छ।
१ हजार ५ सयसम्म रोजगारी सिर्जना हुने अपेक्षा
काठमाडौं स्टिल पूर्ण क्षमतामा सञ्चालनमा आएपछि प्रत्यक्ष रूपमा करिब ६ सय जनाले रोजगारी पाउने कम्पनीको अनुमान छ। अप्रत्यक्ष रोजगारीसमेत जोड्दा रोजगारीको संख्या १ हजार ४ सयदेखि १ हजार ५ सयसम्म पुग्ने पोखरेलले बताए।
उद्योगका उपाध्यक्ष श्रेष्ठले कम्पनीको डिलर नेटवर्क पहिल्यै स्थापित रहेकाले उत्पादन बढेपछि बजार व्यवस्थापनमा समस्या नहुने बताए।
कम्पनीका अनुसार जलविद्युत् आयोजना, पुल, बहुमंजिला भवन, पूर्वाधार परियोजना तथा आवास निर्माण कम्पनीको मुख्य बजार हुनेछन्।
सरकारले ठूला पूर्वाधार परियोजना अघि बढाउने घोषणा गरेकाले आगामी दिनमा स्टिलको माग बढ्ने अपेक्षासहित क्षमता विस्तार गरिएको श्रेष्ठले बताए।
‘अहिले धेरै रोकिएका परियोजनाहरू पुनः सुरु हुने अपेक्षा गरेका छौँ। बजेट र सरकारको नीतिले संरचना तथा पूर्वाधार निर्माणका ठूला परियोजनालाई अगाडि बढाउने संकेत गरेको छ,’ उनले भने, ‘सरकारको नीतिअनुसार पूर्वाधार निर्माणका गतिविधि बढेमा स्टिलको माग पनि बढ्ने हाम्रो अपेक्षा छ। यही कारणले हामीले अहिले प्लान्ट विस्तार गरेका हौँ।’
भाटभटेनी सुपरस्टोरका प्रवर्द्धक मीनबहादुर गुरुङसहित उमेश श्रेष्ठ, किरणकुमार श्रेष्ठ, रामकृष्ण खतिवडा र राजेश श्रेष्ठले विभिन्न परियोजनामा संयुक्त लगानी गर्दै आएका छन्। काठमाडौं स्टिलमा पनि उनीहरूको लगानी रहेको कम्पनीले जनाएको छ।
समूहले दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटल, उदयपुरमा १ हजार मेगावाटको सोलार परियोजना, भैरहवामा गार्मेन्ट गियर तथा चितवनमा बहुउद्देश्यीय कृषि गोदामलगायत परियोजना अघि बढाइरहेको छ। प्रसारणलाइन, जलविद्युत् आयोजना र अस्पताल क्षेत्रमा समेत लगानी विस्तार भइरहेको कम्पनीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्