काठमाडौं । नेपालमा सर्पदंश जटिल जनस्वास्थ्य समस्या र विपद् व्यवस्थापनको चुनौतीका रूपमा देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)का अनुसार पछिल्लो १० वर्षमा सर्पको टोकाइबाट देशभर ३०१ जनाको मृत्यु भएको छ।
वि.सं. २०७३ देखि २०८३ असार मसान्तसम्मको अवधिमा देशभर एक हजार ६७८ वटा सर्पदंशका घटना अभिलेख गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। सर्पदंशबाट मृत्यु हुनेमध्ये ४२ प्रतिशत महिला र २२ प्रतिशत बालबालिका रहेका छन्।
सर्पदंशका घटना विशेषगरी तराई तथा भित्री मधेसका जिल्लामा बढी हुने गरेका छन्। मनसुनका बेला बाढी तथा डुबानका कारण सर्पहरू सुरक्षित स्थान खोज्दै मानव बस्तीमा पस्ने भएकाले जोखिम थप बढ्ने गरेको छ।
समयमै उपचार नपाउँदा मृत्यु
‘सर्पदंश रोकथाम र नियन्त्रणसम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ अनुसार सर्पले टोकेपछि समयमै स्वास्थ्य संस्थामा नपुग्नु मृत्युको प्रमुख कारणमध्ये एक हो।
ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि सर्पले टोकेपछि धामी–झाँक्री तथा घरेलु उपचारमा भर पर्ने प्रवृत्ति रहेको छ। विषालु सर्पको टोकाइमा एन्टीस्नेक भेनम समयमै उपलब्ध नहुँदा र बिरामीलाई अस्पताल पुर्याउन ढिलाइ हुँदा अवस्था गम्भीर बन्न सक्छ।
ग्रामीण क्षेत्रमा सर्पदंश उपचार केन्द्रको सीमित पहुँच, एन्टीभेनमको नियमित उपलब्धताको समस्या तथा विषालु सर्पको पहिचान र उपचारमा दक्ष जनशक्तिको अभावले पनि जोखिम बढाएको छ।
तराईका जिल्लामा बढी जोखिम
एनडीआरआरएमएको विवरणअनुसार मधेस प्रदेशका सबै आठ जिल्ला सर्पदंशको उच्च जोखिममा छन्। कोसी प्रदेशका झापा, मोरङ र सुनसरी, बागमती प्रदेशको चितवन तथा गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) पनि बढी प्रभावित जिल्लामा पर्छन्।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रसमेत सर्पदंशको उच्च जोखिममा छन्। खेतबारीमा काम गर्ने किसान, घाँस–दाउरा संकलन गर्ने व्यक्ति, घरबाहिर सुत्ने मानिस र बालबालिका बढी जोखिममा रहने गरेका छन्।
जलवायु परिवर्तनले थप्दैछ जोखिम
सर्पदंशको समस्या स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित छैन। वन विनाश, बस्ती विस्तार, अनियमित सहरीकरण तथा वातावरणीय परिवर्तनका कारण सर्पको प्राकृतिक बासस्थानमा असर पर्दा मानव र सर्पबीचको सम्पर्क बढिरहेको छ।
जलवायु परिवर्तनका कारण तापक्रम र वर्षाको ढाँचामा आएको परिवर्तनले सर्पको गतिविधि तथा बासस्थानमा प्रभाव पार्न सक्ने कार्ययोजनामा उल्लेख छ। बाढी तथा डुबानका बेला सर्पहरू घर तथा मानव बस्तीमा पस्ने सम्भावना बढ्ने भएकाले विपद्का समयमा सर्पदंशको जोखिमसमेत उच्च हुने गरेको छ।
त्यसैले सर्पदंशलाई जनस्वास्थ्यसँगै वातावरण, जलवायु परिवर्तन, विपद् जोखिम र समुदायको व्यवहारसँग जोडेर हेर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
तत्काल स्वास्थ्य संस्थामा पुर्याउन सुझाव
सर्पदंशको उपचारमा एन्टीभेनम अत्यावश्यक भए पनि औषधि उपलब्धतासँगै बिरामीलाई छिटो स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र उपचार केन्द्रको सुदृढीकरण आवश्यक रहेको बताइएको छ।
विषालु सर्पले टोकेको अवस्थामा बिरामीलाई तत्काल उपयुक्त स्वास्थ्य संस्थामा पुर्याउन सके उपचारको सम्भावना बढ्छ। सर्पले टोकेपछि टोकेको स्थान चिर्ने, विष चुस्ने, डोरी वा कपडाले कस्ने, घाउमा रासायनिक पदार्थ लगाउने तथा झारफुक गर्ने जस्ता अभ्यास नगर्न चिकित्सकहरूले सुझाव दिएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्