काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको सरकारका ६ मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नयाँ मन्त्रिपरिषद्मा सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री र राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त भएका छन्।
त्यसैगरी भरत केसीले भौतिक पूर्वाधार विकासमन्त्री र ज्ञानबहादुर तामाङले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन्।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा बागमतीमा नयाँ सरकार गठन भएको हो।
प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउने आधार प्रस्तुत गरेपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
यसअघि बिहीबार नै प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री थापा मगरलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। नयाँ सरकार गठनसँगै बागमती प्रदेशमा पछिल्लो सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् विस्तार गरिएको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्