बाजुरा । बाजुराको गौमुल गाउँपालिका–३, कटीगाउँमा बिहीबार दिउँसो वर्षासँगै आएको पहिरोले दुई वटा घर पूर्ण रूपमा पुरिएका छन्। पहिरोका कारण स्थानीय बुदी बोहरा र पूर्णिमल बोहराको घरसँगै घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, धनमाल तथा पशुचौपाया समेत पुरिएका छन्।
गौमुल गाउँपालिका–३ का वडाध्यक्ष गोरखबहादुर बोहराका अनुसार अविरल वर्षापछि घरमाथिबाट एक्कासी खसेको पहिरोले दुवै घर पुरेको हो।
“एक्कासी माथिबाट आएको पहिरोले घर पूर्ण रूपमा पुरिए,” वडाध्यक्ष बोहराले भने।
पहिरो आउँदा घरभित्र रहेका स्थानीयवासी भने समयमै सुरक्षित स्थानतर्फ सर्न सफल भएकाले मानवीय क्षति हुन पाएन। तर, भिरालो जमिनमा रहेका आसपासका घरसमेत जोखिममा परेका छन्। स्थानीयका अनुसार गाउँका थप करिब २० परिवार पहिरोको उच्च जोखिममा छन्।
उद्धारका लागि प्रहरी टोली परिचालन
घटनापछि उद्धार तथा राहतका लागि प्रहरी टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार गाउँपालिकाको केन्द्र घट्मुनाबाट प्रहरी टोली आवश्यक राहत सामग्रीसहित घटनास्थलतर्फ खटिएको छ।
“उद्धारका लागि आवश्यक त्रिपाल, पाललगायत सामग्रीसहितको टोली घटनास्थलमा पठाइएको छ,” उनले बताए।
गाउँपालिकाको केन्द्रबाट घटनास्थलसम्म पुग्न करिब चार घण्टा पैदल यात्रा गर्नुपर्ने भएकाले उद्धार टोलीलाई घटनास्थल पुग्न समय लाग्ने जनाइएको छ। प्रभावित परिवारको क्षति विवरण संकलन तथा जोखिममा रहेका अन्य परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्