गोरखा । सामाजिक सञ्जाल फेसबुकमा भरुवा बन्दुक बोकेको तस्वीर सार्वजनिक गरेपछि प्रहरीले गोरखामा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ का ४३ वर्षीय प्रेम सुनार र पालुङटार नगरपालिका–१ का ३३ वर्षीय विष्णु सुनार रहेका छन्। उनीहरूलाई गोरखाको सिरानचोक गाउँपालिका–६, नयाँसाँघुबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो फेसबुक आईडीमार्फत भरुवा बन्दुक बोकेको तस्वीर पोस्ट गरेका थिए। उक्त तस्वीर सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा प्रेम सुनारलाई लाइसेन्स नभएको एकथान भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। थप अनुसन्धान गर्दा बरामद गरिएको बन्दुक विष्णु सुनारको भएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको हो।
थप अनुसन्धान जारी
प्रहरीले पक्राउ परेका दुवै जनामाथि अवैध हतियार राखेको विषयमा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
फेसबुकमा बन्दुकसहितको तस्वीर सार्वजनिक गर्नु र लाइसेन्सबिनाको हतियार राखिनुको पृष्ठभूमिबारे समेत प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्