काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइ समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले समितिका दस्ताबेजको अध्ययन, कानुनी विश्लेषण तथा आन्तरिक प्रक्रियासम्बन्धी विषय सार्वजनिक गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताए।
समितिले गर्ने अध्ययन, परीक्षण र कानुनी विश्लेषणका आधारमा मात्र अन्तिम निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ। कानुनी पक्षसमेत जोडिएका विषयमा समिति संवेदनशील हुनुपर्ने उनले बताए।
समितिका छलफल पारदर्शी हुनुपर्ने भए पनि निर्णय प्रक्रियाअघि हुने कतिपय प्राविधिक तथा आन्तरिक विषय सार्वजनिक गर्दा सावधानी अपनाउनुपर्ने बुर्लाकोटीको धारणा छ। सदस्यहरूले दस्ताबेज अध्ययन गरे वा नगरेको विषय उनीहरूकै जिम्मेवारी भएकाले त्यस्ता विवरण सभापतिमार्फत सार्वजनिक गर्न आवश्यक नरहेको उनले बताए।
क्षेत्राधिकारबाहिरका उजुरी सम्बन्धित निकायमा पठाउन सुझाव
समितिमा प्राप्त उजुरीबारे बोल्दै बुर्लाकोटीले सबै प्रकारका उजुरीमाथि छलफल गर्ने अधिकार संसदीय सुनुवाइ समितिसँग नरहेको बताए।
समितिको क्षेत्राधिकारमा नपर्ने उजुरीको प्रकृति हेरेर गृह मन्त्रालय वा संसद्को सम्बन्धित समितिमा आवश्यक छानबिन तथा कार्यान्वयनका लागि पठाउनुपर्ने उनको सुझाव छ।
सूचनाको हक प्रयोग गर्ने तथा उजुरी दिने प्रवृत्तिलाई बेवास्ता गर्न नमिल्ने भए पनि क्षेत्राधिकारबाहिरका उजुरीलाई सम्बन्धित निकायमा पठाएर प्रक्रियागत रूपमा अघि बढाउनुपर्ने उनले बताए।
‘आफ्नो कार्यक्षेत्रमा नपर्ने विषयमा छलफल गर्दा हामी न कुनै निष्कर्षमा पुग्न सक्छौँ, न त ठोस निर्देशन नै दिन सक्छौँ,’ उनले भने।
समितिको समय र गरिमा कायम राख्दै क्षेत्राधिकारभित्र रहेर मात्र काम गर्न उनले सदस्यहरूको ध्यानाकर्षण गराए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्