काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले अध्ययनका लागि राखेको छ।
विशेष महाधिवेशनको आधिकारिकतासम्बन्धी विवादमा पुनरवलोकनका लागि सर्वोच्च अदालतबाट अनुमति दिइसकिएको अवस्थामा देउवाले वारेसमार्फत महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत प्रशासनमा रिट निवेदन पेस गरेका हुन्।
सर्वोच्च अदालत प्रशासनका अनुसार शुक्रबार, भदौ ५ गते उक्त रिट अध्ययनका लागि राखिएको छ। बीचमा सार्वजनिक बिदा परेकाले रिटमाथि तत्काल निर्णय हुन नसकेको र सोमबार यसबारे थप प्रक्रिया अघि बढ्ने बताइएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले रिट निवेदन अध्ययनकै क्रममा रहेको जानकारी दिएका छन्।
“आजका लागि रिट अध्ययनका लागि राखिएको छ। बीचमा बिदा रहेकाले सोमबार मात्र एउटा निर्णय हुन्छ,” प्रवक्ता कोइरालाले बताएका छन्।
पूर्णबहादुर खड्का पनि सर्वोच्च जाने तयारीमा
कांग्रेसभित्र महाधिवेशन र विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद चर्किरहेका बेला तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि छुट्टै रिट निवेदन लिएर सर्वोच्च अदालत जाने तयारी गरेका छन्।
खड्काले सोमबार सर्वोच्चमा रिट दर्ता गराउने तयारी गरेको बताइएको छ। यससँगै कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया र पार्टीभित्रको नेतृत्व विवाद अब राजनीतिक बहससँगै कानुनी मोर्चामा समेत प्रवेश गरेको छ।
देउवाको रिटमाथि सर्वोच्च अदालतले कस्तो निर्णय गर्छ र खड्काको प्रस्तावित रिटले विवादलाई कुन दिशातर्फ लैजान्छ भन्ने विषयले कांग्रेसको आगामी महाधिवेशन प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्