पोखरा । जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहहरूको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा असल अभ्यास अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले संविधानले परिकल्पना गरेका तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहजीकरणमा जिल्ला समन्वय समिति कास्कीको भूमिका उल्लेखनीय रहेको बताइन्।
उनले योजना छनोट तथा कार्यान्वयनका लागि स्पष्ट कानुनी आधार र व्यवस्थित संरचना निर्माण आवश्यक रहेको बताइन्।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कास्कीका स्थानीय तहको कार्यसम्पादन तथा विकास निर्माणका कामको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको बताए।
उनले विकास योजनाको छनोट तथा प्राथमिकीकरणमा देखिएका त्रुटिका कारण स्थानीय तहको कार्यसम्पादन अपेक्षाअनुसार उत्कृष्ट हुन नसकेको उल्लेख गरे। कास्कीका स्थानीय तहलाई सुशासन, पारदर्शिता र जवाफदेहितासहित सेवा प्रवाहमा ध्यान दिन उनले आग्रह गरे।
शुक्रबार पोखरा महानगरपालिका तथा अन्नपूर्ण, माछापुच्छ्रे, रूपा र मादी गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गरिएको थियो।
जिल्ला समन्वय अधिकारी नवराज बरालले आगामी सोमबार विकासतर्फका कार्यालय तथा मंगलबार सामाजिक सेवा प्रदायक कार्यालयहरूको समीक्षा गरिने जानकारी दिए।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका महासचिव गोकर्ण अधिकारी, नागरिक समाज कास्कीका अगुवा रामबहादुर पौडेल तथा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङलगायतले धारणा राखेका थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल र सूचना अधिकारी लक्षु शर्माले पनि आफ्ना भनाइ राखेका थिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्