जनकपुरधाम । जनकपुरधाममा गुठी संस्थानको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु भएको छ। शनिबार बिहानदेखि प्रशासनले पोखरीको डिलमा भएको अतिक्रमण हटाउन डोजर परिचालन गरेको हो।
गुठी संस्थान जनकपुरधामका अनुसार गिरनारी कुट्टीनजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराउन अभियान थालिएको हो। संस्थानले यसअघि साउन १ गते सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गर्न आग्रह गरेको थियो।
जग्गा खाली गर्न अटेर गरेपछि भदौ ५ गते जनकपुर नगर क्षेत्रमा माइकिङसमेत गरी अतिक्रमण हटाउन आग्रह गरिएको थियो। त्यसपछि पनि अतिक्रमित संरचना नहटाइएपछि डोजर लगाएर खाली गराउन थालिएको संस्थानले जनाएको छ।
गुठी संस्थान जनकपुरधामका किसोरकुमार झाका अनुसार पहिलो चरणमा गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गरिनेछ। जनकपुरधाम क्षेत्रमा रहेका कुल ५० वटा पोखरीमध्ये पहिलो चरणमा सातवटा पोखरीलाई अतिक्रमणमुक्त गराउने योजना रहेको उनले जानकारी दिए।
संस्थानले अतिक्रमित जग्गा खाली गर्न पटक–पटक सूचना र सार्वजनिक आह्वान गरे पनि अटेर भएपछि प्रशासनको सहयोगमा अतिक्रमण हटाउने अभियान अघि बढाइएको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्