काठमाडौं । लगातारको वर्षासँगै आज भदौ ६ गते देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले केही साना तथा मझौला नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने चेतावनी दिएको छ।
महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र डोटीलगायत जिल्लाबाट बग्ने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने अनुमान गरिएको छ।
ती जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै नदी तथा खोलानजिक बसोबास गर्ने स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
ठूला नदीको बहाव पनि बढ्ने
वर्षाका कारण सप्तकोसी, नारायणी, त्रिशूली र सेतीलगायत केही ठूला नदीमा समेत पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। लगातार वा भारी वर्षा भएका क्षेत्रमा नदीको सतह अचानक बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा नदी आसपास यात्रा गर्नेहरूलाई सावधानी अपनाउन भनिएको छ।
विशेषगरी पहाडी क्षेत्रमा बग्ने साना खोला तथा नदीमा पानीको सतह छोटो समयमै बढ्न सक्ने भएकाले नदी तर्ने, माछा मार्ने तथा नदी किनारमा अन्य गतिविधि गर्ने क्रममा सतर्क रहन आवश्यक रहेको छ।
बाढीको सम्भावना रहेका जिल्लाका स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहलाई पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्