धनकुटा , ४ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ ।
नेकपाले केन्द्रीय सदस्य तथा कोशी व्युरो इन्चार्ज किरण राईसहित ८ नेताहरुलाई प्रशासनले पक्राउ गरेपछि उनिहरुको रिहाईको माग गर्दै पूर्वी नेपाल बन्द आव्हान गरेको हो ।
बन्दका कारण बिहानैदेखि धनकुटा भएर चल्ने लामो तथा छोटो दुरीका यातायात सञ्चालनमा आउन सकेका छैनन् । बन्दको प्रभाव तराईका जिल्लामा सामान्य मात्रामा परेपनि पहाडी जिल्लामा बढी मात्रामा परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए । बन्दका कारण पहाडी जिल्लामा सयौं यात्रु बीच बाटो मै अलपत्र परेका छन ।
यसैबीच पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरी र मोरङको सिमानामा पर्ने बुडी खोलाको पुलमा शंकास्पद वस्तु भेटेपछि केहीबेर सडक अवरुद्ध भएको थियोे। बम निष्क्रिय पार्न गएको सेनाको टोली निष्क्रिय पारेपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी अरुणकुमार विसीले जानकारी दिए । उनका अनुसार मोरङमा बन्दको प्रभाव कम मात्रामा परेको छ ।
प्रतिक्रिया दिनुहोस्