म्याग्दी । म्याग्दीको बहुप्रतीक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम पूरा भएको हो।
रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आयोजना विद्युत् उत्पादनको तयारीमा पुगेको छ। बाँध, डिसेन्डर, सुरुङ र स्विचयार्डको परीक्षण सम्पन्न भइसकेको छ भने २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षणसमेत पूरा भएको छ।
आइतबारदेखि दोस्रो २० मेगावाटको युनिटको परीक्षण सुरु गरिएको छ। एक सातादेखि १० दिनसम्म परीक्षण गरेपछि व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको केसीले बताए।
रघुगंगा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा निर्माण भएको बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुईवटा पानी थिग्र्याउने पोखरीको परीक्षण पूरा भएको छ। तिल्केनीचौरमा विद्युत्गृह निर्माण सम्पन्न भएपछि जडान गरिएका उपकरणको परीक्षण थालिएको हो।
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आइसकेको छ।
चार पटक म्याद थपिएपछि निर्माण सम्पन्न
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ मा करिब ६ अर्ब रुपैयाँको ठेक्का सम्झौता गरेको थियो।
निर्माणमा ढिलाइ भएपछि आयोजनाको म्याद पटक–पटक थपिएको थियो। कोरोना महामारी, बाढी, पहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावलगायत कारणले आयोजना तोकिएको समयभन्दा ढिला सम्पन्न भएको आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए।
यसअघि आर्थिक समस्या देखिएपछि २०७२ सालमा पुरानो ठेकेदार आईभीआरसीएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको थियो। आईभीआरसीएलसँग २०६६ सालमा आयोजनाको ठेक्का सम्झौता भएको थियो।
आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ भारतीय हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२ अमेरिकी डलरभन्दा बढीमा सम्झौता भएको थियो। भारतको एक्जिम बैंकले आयोजनाका लागि ६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ।
वार्षिक २४ करोड युनिट विद्युत् उत्पादन
आयोजनाले वार्षिक करिब २४ करोड ५ लाख ९३ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो।
उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी डबल सर्किट क्षमताको दाना–कुश्मा प्रसारणलाइनमा जोडिनेछ। त्यसका लागि आवश्यक चारवटा टावर तथा प्रसारणलाइन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले राहुघाट आयोजना जिल्लामा सरकारी लगानीमा सुरु भएको महत्वपूर्ण आयोजना भएको बताए। उनका अनुसार राहुघाट सुरु भएपछि म्याग्दीमा भित्रिएका अन्य जलविद्युत् आयोजनाले पनि गति लिएका छन्।
करिब दुई दशक लामो प्रतीक्षापछि राहुघाट निर्माण सम्पन्न हुन लागेको खबरले जिल्लावासी उत्साहित भएको श्रेष्ठले बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्