काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटनाको अभिलेख प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’मा सुरक्षित रहने बताएका छन्। उनले पुराना घटनामा संलग्न अपराधीलाई जुनसुकै समयमा पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेका छन्।
राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा महानिरीक्षक कार्कीले दशकौँ पुराना घटनामा समेत संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको बताए। व्यक्तिको स्मरण समयसँगै कमजोर भए पनि प्रहरी संस्थाले आपराधिक घटना नबिर्सने उनको भनाइ छ।
“व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन्, तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो। यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न,” उनले भने।
यद्यपि, पुराना घटनाको अनुसन्धानमा अपेक्षाअनुसार सफलता हासिल हुन नसकेको उनले स्वीकार गरे। पुराना चर्चित तथा जघन्य अपराधका घटनाको अध्ययन र निरन्तर अनुसन्धान भइरहेको तथा विशेष टोली गठन गरेर अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए। त्यस्ता अनुसन्धानबाट केही घटनामा राम्रो सफलता प्राप्त भएको उनको भनाइ छ।
अनुसन्धानमा प्रविधिको प्रयोग
महानिरीक्षक कार्कीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोमार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान भइरहेको छ। नयाँ र पुराना दुवै मुद्दालाई समानान्तर रूपमा अनुसन्धान अघि बढाइएको उनले बताए।
बदलिँदो समाज, प्रविधि र अपराधको शैलीले सुरक्षा चुनौती थप्दै गएको उल्लेख गर्दै उनले परम्परागत अनुसन्धान पद्धतिबाट मात्रै आधुनिक अपराध नियन्त्रण सम्भव नहुने बताए।
प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई प्रभावकारी बनाउन कार्यसम्पादन सूचक तयार गरिएको जानकारी दिँदै उनले कामका आधारमा मूल्याङ्कन हुने प्रणालीले कर्मचारीलाई आफ्नो कार्यसम्पादन सुधार्ने अवसर दिने बताए।
प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै कार्कीले नागरिकले घरबाटै आवेदन तथा निवेदन दिन र सेवासम्बन्धी जानकारी लिन सक्ने प्रणाली विकास गरिएको बताए। ‘नेपाल पुलिस एप’मार्फत विभिन्न सेवा उपलब्ध गराउने व्यवस्था गरिएको उनको भनाइ छ।
प्रविधिजन्य तथा आर्थिक अपराधका घटना बढ्दै गएकाले त्यस्ता अपराधको अनुसन्धानका लागि विशिष्टीकृत जनशक्ति र इकाइ आवश्यक रहेको उनले बताए। सोहीअनुसार विशिष्टीकृत अनुसन्धान इकाइ गठन गरिएको उनले जानकारी दिए।
इन्टरपोलमार्फत अन्तर्राष्ट्रिय समन्वय
अपराधको अन्तर्राष्ट्रिय सञ्जाल नियन्त्रणका लागि नेपाल प्रहरीले विभिन्न देशका प्रहरी सङ्गठन तथा इन्टरपोलमार्फत अन्य मुलुकका विशिष्टीकृत अनुसन्धान इकाइसँग समन्वय गरिरहेको महानिरीक्षक कार्कीले बताए।
“नेपाल प्रहरीले आधुनिक ‘पुलिसिङ’का स्ट्यान्डर्डलाई अवलम्बन गर्दै अन्य मुलुकका विशिष्ट प्रहरी सङ्गठनका सदस्यसँग समन्वय गरिरहेको छ,” उनले भने।
प्रविधिको प्रयोगबाट हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सक्षम हुँदै गएको उनको दाबी छ।
नेपाल प्रहरी नागरिकसँग सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने सङ्गठन भएकाले शान्ति, सुव्यवस्था र नागरिकको जीउधनको सुरक्षाका लागि आमनागरिकको सहयोग आवश्यक रहेको उनले बताए।
आपराधिक गतिविधिमा संलग्न व्यक्तिबारे प्रहरीलाई सूचना उपलब्ध गराएर अनुसन्धानमा सहयोग गर्न पनि महानिरीक्षक कार्कीले नागरिकसँग आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्