काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काबीच पछिल्लो समय दूरी बढेको देखिएको छ। लामो समयदेखि निकट सहकार्य गर्दै आएका दुई नेताबीच पार्टीको आगामी रणनीति र नेतृत्वका विषयमा मतभेद देखिन थालेको कांग्रेस नेताहरू बताउँछन्।
देउवा सिंगापुरबाट उपचारपछि फर्किएयता दुई नेताबीचको सम्बन्धमा चिसोपन आएको स्रोतको दाबी छ। देउवाले बीपी पुत्र डा. शशांक कोइरालालाई नजिक ल्याएपछि खड्का असन्तुष्ट बनेको बताइएको छ।
गत साता सुकेधारामा सम्पन्न कांग्रेसको राष्ट्रिय भेलाको पूर्वसन्ध्यादेखि नै देउवाले शशांकलाई अघि सारेपछि खड्का टाढिएको कांग्रेस संस्थापन इतर पक्षका एक नेताले बताए। उनका अनुसार खड्काको नेतृत्वमा भेला आयोजना गर्ने इच्छा भए पनि देउवाले शशांकलाई अघि सारेपछि खड्का असन्तुष्ट भएका हुन्।
राष्ट्रिय भेलाको समापन समारोहमा खड्का सहभागी नभएको विषयलाई पनि नेताहरूले उनको असन्तुष्टिसँग जोडेर हेरेका छन्।
देउवाको रणनीति
कांग्रेसका देउवानिकट नेताहरूका अनुसार पूर्वसभापति देउवा पार्टीको आगामी नेतृत्वमा कोइराला परिवारलाई समेत समेटेर अघि बढ्ने रणनीतिमा छन्। सोहीअनुसार उनले डा. शशांक कोइरालालाई पार्टीका गतिविधिमा सक्रिय बनाएका हुन्।
देउवानिकट एक नेताका अनुसार सुरुमा राष्ट्रिय भेलाको संयोजकका रूपमा नेता शेखर कोइरालालाई अघि सार्ने प्रस्ताव थियो। शेखरले अस्वीकार गरेपछि शशांकलाई जिम्मेवारी दिइएको हो।
पछिल्लो समय कोइराला परिवार देउवानिकट भएको भन्दा पनि देउवा आफ्नो राजनीतिक रणनीतिअनुसार कोइराला परिवारसँग नजिकिएको विश्लेषण कांग्रेसभित्र हुन थालेको छ।
खड्का असन्तुष्ट
देउवाका विश्वासपात्र मानिँदै आएका खड्काले पछिल्लो समय उनीसँगको भेटघाट घटाएका छन्। यसलाई देउवा समूहभित्र आगामी १५औँ महाधिवेशनलाई लिएर समीकरण परिवर्तनको संकेतका रूपमा हेरिएको छ।
जेनजी आन्दोलनपछिको राजनीतिक संकटका बेला कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका खड्काले राष्ट्रिय भेलाको संयोजनमा समेत भूमिका खोजेका थिए। तर शशांकलाई जिम्मेवारी दिएपछि उनी असन्तुष्ट भएको नेताहरूको भनाइ छ।
कांग्रेसका एक नेताका अनुसार देउवा र खड्काको राजनीतिक प्राथमिकता फरक हुँदै गएपछि दूरी बढेको हो। कांग्रेसको महाधिवेशन रोक्न सर्वोच्च अदालतमा संयुक्त रूपमा रिट दायर गर्ने विषयमा खड्का पछि हट्नुले पनि दुई नेताबीचको असमझदारीलाई संकेत गरेको ती नेताको दाबी छ।
रिट दायर गर्ने विषयमा अन्योल
कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवाले सर्वोच्च अदालतमा पेस गरेको रिट शुक्रबार कार्यालय समय सकिनुअघि फिर्ता लगिएको थियो। रिटमा केही सुधार आवश्यक रहेको भन्दै फिर्ता लगिएको बताइएको छ।
देउवा र खड्कालाई संयुक्त रूपमा रिट दायर गराउने प्रयासस्वरूप रिट फिर्ता लिइएको हुनसक्ने अनुमान पनि गरिएको छ। तर खड्का संयुक्त रूपमा अघि बढ्ने वा छुट्टै कानुनी प्रक्रियामा जाने भन्ने विषयमा अझै स्पष्ट निर्णय नभएको उनीनिकट कानुन व्यवसायीहरू बताउँछन्।
देउवा–खड्का निकट कानुन व्यवसायीहरूका अनुसार देउवाले आफ्नो उमेर र स्वास्थ्य अवस्थाका कारण सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकन निवेदनलाई प्राथमिकतामा राख्नुपर्ने सुझावसमेत पाएका छन्।
सुकेधारा भेलापछि नयाँ समीकरण
साउन २९ देखि ३१ गतेसम्म सुकेधारामा भएको कांग्रेसको राष्ट्रिय भेलापछि देउवा, शेखर र शशांकबीच नयाँ राजनीतिक समीकरण देखिएको छ।
भेलाले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि संयोजन गर्ने जिम्मेवारी दिएको थियो। भेलाको निर्णयमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ।
यससँगै यसअघि देउवाको निकट सहयोगीका रूपमा हेरिएका खड्का पार्टीभित्र तुलनात्मक रूपमा ‘कर्नर’मा परेको देखिन्छ।
शशांकले सार्वजनिक रूपमा १५औँ महाधिवेशनमा सभापतिको दाबेदारी रहने बताउँदै आएका छन्। यद्यपि, शेखर कोइराला सभापतिको उम्मेदवार बने आफूले सहयोग गर्ने प्रतिबद्धता उनले जनाइसकेका छन्। यसले कांग्रेसको आगामी महाधिवेशनमा देउवा–कोइराला पक्षको समीकरण र खड्काको राजनीतिक भूमिकाबारे थप चासो बढाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्