काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले जेनजी आन्दोलनका क्रममा पक्राउ परेर थुनामा रहेका व्यक्तिहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
सांसद यादवले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन केवल सत्ताप्राप्ति वा नयाँ राजनीतिक दल निर्माणका लागि नभएको बताए। उक्त आन्दोलन विधिको शासन, परिवर्तन र नागरिक अधिकारका लागि भएको उनको भनाइ थियो।
उनले जेनजी आन्दोलनको अपनत्व सरकारले लिनुपर्ने माग गर्दै आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई थुनामुक्त गर्न आग्रह गरे।
सरकारले आन्दोलनका माग र भावना बेवास्ता गरे जेनजी पुस्ता पुनः सडकमा जान बाध्य हुने चेतावनीसमेत उनले दिए।
“यो सरकारले हाम्रो आन्दोलनको बेवास्ता गरेर हिँड्यो भने हाम्रो जेनजी साथीहरूको बाटो सदन होइन, सडक नै हुनेछ भन्ने गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,” सांसद यादवले भने।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्