काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लियाबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा मन्त्री खनालले नेपाल र ब्राजिलबीचको द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्। उनले विशेषगरी पर्यटन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्यको पर्याप्त सम्भावना रहेको बताए।
‘नेपाल र ब्राजिलबीच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रहिआएको छ। आगामी दिनमा पनि यस सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउँदै लैजान हामी प्रतिबद्ध छौँ,’ मन्त्री खनालले भने।
उनले दुई देशबीच पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राखे।
भेटका क्रममा राजदूत गाबाग्लियाले नेपाल आएको छोटो समयमै यहाँको कला, संस्कृति र नेपाली जनताको आत्मीय आतिथ्यबाट आफू प्रभावित भएको बताए।
राजदूतले दुग्ध उत्पादनको क्षेत्रमा नेपाल र ब्राजिलबीच सहकार्य अघि बढाउने विषयमा ब्राजिलको प्राविधिक टोली नेपाल आएको जानकारी दिए। सहकार्यसम्बन्धी समझदारीपत्र नेपाली पक्षबाट पुनरावलोकन गरी केही दिनअघि ब्राजिलियन पक्षलाई जानकारी गराइएको उनले बताए।
त्यस्तै, काठमाडौं विश्वविद्यालय र ब्राजिलको बुटान्टान इन्स्टिच्युटबीच सर्पदंशविरुद्धको प्रतिविषसम्बन्धी अनुसन्धानमा सहकार्य भइरहेको जानकारी पनि उनले गराए।
राजदूत गाबाग्लियाले वर्तमान सरकारका प्राथमिकताअनुसार पर्यटन, लगानी तथा निर्यात प्रवर्द्धनका क्षेत्रमा नेपालसँग सहकार्य गर्न ब्राजिल तयार रहेको बताएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्