काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका तीन जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षरमा जारी विज्ञप्तिअनुसार केन्द्रीय कार्यसम्पादन समितिको निर्णय तथा केन्द्रीय अनुशासन समितिको कारबाहीका आधारमा राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गरिएको हो।
राप्रपाले यसअघि प्रदेश सरकारमा सहभागी नहुन आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशन दिएको थियो। तर, पार्टीको निर्देशन अटेर गर्दै विष्ट, प्रजापति र तामाङ बागमती प्रदेश सरकारमा सहभागी भएपछि उनीहरूमाथि अनुशासनको कारबाही गरिएको पार्टीले जनाएको छ।
पार्टीका अनुसार उनीहरूलाई यसअघि केन्द्रीय अनुशासन समितिमार्फत स्पष्टीकरण सोधिएको थियो। तर, उनीहरूले दिएको जवाफ चित्तबुझ्दो नभएपछि पदमुक्त गर्ने निर्णय गरिएको हो।
पार्टीको नीति, निर्णय र निर्देशनविपरीत गतिविधि गरेको भन्दै उनीहरूलाई प्रदेशसभा सदस्य पदबाट हटाइएको राप्रपाले जनाएको छ।
पदमुक्त गरिएका तीन प्रदेशसभा सदस्यसम्बन्धी निर्णयको जानकारी बागमती प्रदेशसभाका उपसभामुखलाई समेत पठाइएको छ। उक्त पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको पार्टीले जानकारी दिएको छ।
राप्रपाले पार्टीको आधिकारिक निर्णय र निर्देशनविपरीत सरकारमा सहभागी हुने गतिविधिलाई अनुशासनहीनताको गम्भीर विषयका रूपमा लिँदै यस्तो कदम चालेको जनाएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्