नयाँदिल्ली । भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार वर्ष पुरानो प्रतिबन्ध हटाएको छ। किसानलाई गहुँको उचित मूल्य दिलाउँदै आम्दानी बढाउने उद्देश्यले निर्यात खुला गरिएको भारतीय सरकारले जनाएको छ।
विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले जारी गरेको सूचनाअनुसार गहुँको निर्यात नीति तत्काल लागू हुने गरी ‘प्रतिबन्धित’बाट ‘स्वतन्त्र’ श्रेणीमा परिवर्तन गरिएको हो।
भारतले सन् २०२२ को मे महिनामा घरेलु आपूर्ति सुनिश्चित गर्न र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय देशमा गहुँको पर्याप्त मौज्दात रहनुका साथै उत्पादन बढेकाले किसानलाई थप बजार उपलब्ध गराउन निर्यात खुला गरिएको हो।
आधिकारिक तथ्यांकअनुसार भारतले सन् २०२५/२६ को बाली वर्षमा करिब १२ करोड ६ लाख ५० हजार टन गहुँ उत्पादन गरेको छ। यो अघिल्लो बाली वर्षको तुलनामा २.३ प्रतिशत बढी हो।
किसानको आम्दानी बढ्ने अपेक्षा
भारतका खाद्य तथा सार्वजनिक वितरण सचिव सञ्जीव चोपडाले घरेलु बजारमा गहुँको मूल्य हाल कम रहेकाले निर्यात खुला गर्दा मूल्यमा सुधार आउने र त्यसबाट किसानको आम्दानी बढ्ने बताएका छन्।
उनका अनुसार निर्यातको अवसर बढेपछि आगामी बाली सिजनमा किसानलाई गहुँको खेती विस्तार गर्न समेत प्रोत्साहन मिल्नेछ।
घरेलु आपूर्तिमा समस्या नहुने दाबी
भारत सरकारले देशमा पर्याप्त गहुँ भण्डारण रहेकाले निर्यात खुला गर्दा घरेलु बजारमा आपूर्ति प्रभावित नहुने जनाएको छ।
निर्यात खुला भएपछि किसानले थप बजार पाउने र उत्पादनको उचित मूल्य प्राप्त गर्ने सरकारको अपेक्षा छ। साथै, यसबाट आगामी वर्ष गहुँ उत्पादन बढाउन किसानलाई थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्