पोखरा । पब्लिक फोरके टेलिभिजनले हरितालिका तीजको अवसरमा १०औँ संस्करणको गण्डकी प्रदेशस्तरीय कृषि तीजगीत प्रतियोगिता २०८३ आयोजना गर्ने भएको छ।
कृषि र कृषकका सम्भावनालाई उजागर गर्नुका साथै महिला कृषकलाई उद्यम तथा कृषि पर्यटनतर्फ प्रेरित गर्ने उद्देश्यले बार्दली मिडिया प्रालिद्वारा सञ्चालित टेलिभिजनले प्रतियोगिता आयोजना गर्न लागेको हो।
कार्यक्रम संयोजक घनश्याम पाण्डेका अनुसार गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका उत्कृष्ट समूहबीच भदौ २२ गते सोमबार अन्तिम प्रतियोगिता हुनेछ। प्रतियोगिता गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वय तथा जिल्लास्थित कृषि विकास कार्यालयको सहयोगमा सञ्चालन गरिनेछ।
जिल्ला–जिल्लाबाट उत्कृष्ट समूह छनोट गरी पोखरामा ल्याइने आयोजकले जनाएको छ।
विजेतालाई ५५ हजार ५५५
प्रतियोगितामा विभिन्न जिल्लाका प्रतिस्पर्धी समूहले मौलिक कृषि तीजगीत प्रस्तुत गर्नेछन्। कार्यक्रममा लोकदोहोरी कलाकार प्रजापति पराजुली, खुमन अधिकारी र शान्ता रानी परियारको समेत प्रस्तुति रहनेछ।
प्रतियोगितामा प्रथम हुने समूहले ५५ हजार ५५५ रुपैयाँ, द्वितीयले ३३ हजार ३३३ रुपैयाँ, तृतीयले २२ हजार २२२ रुपैयाँ तथा सान्त्वना हुने समूहले ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, उत्कृष्ट नृत्य, भेषभूषा, शब्द तथा विषयवस्तुका लागि छुट्टै विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
कृषि, संस्कृति र महिला सशक्तीकरणमा जोड
टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले कृषि, उद्यम र पर्यटनमा नेपाली महिलाको महत्वपूर्ण योगदान रहेको बताए। प्रतियोगिताले महिला कृषकको मेहनत र योगदानलाई सम्मान गर्ने उनको भनाइ छ।
कार्यक्रमस्थलमा रैथाने बालीको प्रदर्शनीसँगै विभिन्न कृषि तथा अन्य सामग्रीका स्टल पनि राखिने आयोजकले जनाएको छ।
कृषि, संस्कृति र महिला सशक्तीकरणलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा किसान, कृषि विज्ञ, सरोकारवाला तथा कृषि पर्यटन क्षेत्रका व्यक्तिलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।
कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ भने प्रतियोगिताको प्रत्यक्ष प्रसारणसमेत गरिनेछ।
पब्लिक फोरके टेलिभिजनले गत वर्ष पनि गण्डकी प्रदेशस्तरीय कृषि तीजगीत प्रतियोगिता आयोजना गरेको थियो।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्