पाल्पा । वन्यजन्तुको आतङ्कका कारण अन्नबाली लगाउन समस्या हुन थालेपछि पाल्पाका किसान टिमुरखेतीतर्फ आकर्षित भएका छन्। बाँदर र बदेलले मकै, कोदो लगायतका बाली नष्ट गर्न थालेपछि किसानले कम क्षति हुने र राम्रो आम्दानी दिने टिमुरखेतीलाई विकल्पका रूपमा अपनाउन थालेका हुन्।
तिनाउ गाउँपालिका–कचलका मीनबहादुर सारुका अनुसार वनसँग जोडिएका क्षेत्रमा अन्नबाली जोगाउन कठिन भएपछि अधिकांश किसानले बारी तथा बाँझो जमिनमा टिमुर लगाउन थालेका छन्।
‘यहाँ सबैजसो बारी र बाँझो जमिनमा टिमुर छ। वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ,’ उनले भने। टिमुरबाट राम्रो आम्दानी भइरहेको पनि उनले बताए।
रिब्दीकोट गाउँपालिका–ढुस्टुङकी तारा बगालेले पनि व्यावसायिक रूपमा टिमुरखेती गरेकी छन्। वन्यजन्तुले खासै क्षति नगर्ने, धेरै मेहनत नपर्ने र उत्पादनपछि बजार पाउन सहज भएकाले अन्नबाली छाडेर टिमुर लगाएको उनले बताइन्।
पहिले मकैखेती गर्दै आएकी बगालेले अहिले बारीमा ५० वटा टिमुरका बिरुवा लगाएकी छन्।
‘हरेक वर्ष बारीमा मकै लगायो, बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन्। मेहनत गरेर लगाएको बाली स्याहार्ने बेलामा वन्यजन्तुले खाइदिएपछि विकल्पका रूपमा टिमुर लगाएकी हुँ,’ उनले भनिन्।
टिमुरखेती विस्तार हुँदै
निस्दी गाउँपालिका–ज्यामिरेका कर्णबहादुर सोतीले डिभिजन वन कार्यालयबाट गत वर्ष २० वटा बिरुवा लिएर टिमुरखेती सुरु गरेका छन्। वन्यजन्तुले अन्नबाली नष्ट गर्न थालेपछि टिमुर लगाएको उनले बताए।
रैनादेवी छहराका ध्रुवबहादुर रानाका अनुसार विगतमा बारीका काल्नामा टिमुर लगाउँदा स्थानीयले हाँसो गर्ने गरे पनि अहिले यसको आम्दानी देखेपछि किसान बारीभरि टिमुर लगाउन थालेका छन्।
‘वन्यजन्तुको आतङ्कले अन्नबाली लगाउन सकेनौँ, अहिले हामीले टिमुरखेती गरेका छौँ,’ उनले भने।
टिमुरखेतीबाट जिल्लाका दुई हजारभन्दा बढी किसान लाभान्वित भएको बताइएको छ। असारको अन्तिम सातादेखि असोज–कात्तिकसम्म टिमुर बिक्री गरेर किसानले वार्षिक एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।
वन कार्यालयको सहयोग
डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङले जिल्लामा टिमुरखेतीप्रति किसानको आकर्षण बढ्दै गएको बताए। पाल्पाको भौगोलिक बनोट तथा हावापानी टिमुरखेतीका लागि उपयुक्त रहेको उनको भनाइ छ।
नेपाल सरकारले टिमुरलाई प्रमुख जडीबुटी बालीका रूपमा राखेको छ। टिमुरसहित १२ जडीबुटी प्रजातिलाई खेती प्रविधि अनुसन्धानका लागि प्राथमिकतामा राखिएपछि किसानको आकर्षण थप बढेको तामाङले बताए।
डिभिजन वन कार्यालयले पछिल्ला तीन वर्षदेखि टिमुरलाई व्यावसायिक खेतीका रूपमा विकास गर्न पहल गर्दै आएको छ। किसानलाई निःशुल्क तथा सहुलियतमा बिरुवा उपलब्ध गराउँदै आएको कार्यालयले जनाएको छ।
स्थानीयस्तरमा पर्याप्त बिरुवा उत्पादन हुन नसकेपछि पश्चिम नेपालका अन्य जिल्लाबाट बिरुवा ल्याएर वितरण गर्ने गरिएको छ। कार्यालयले पहिलो वर्ष १० हजार बिरुवा वितरण गरेको थियो भने त्यसपछिको आर्थिक वर्षमा किसानको मागअनुसार २० हजार बिरुवा वितरण गर्दै आएको छ।
पछिल्लो समय मागअनुसार बिरुवा उपलब्ध गराउनसमेत कठिन हुन थालेको सूचना अधिकारी तामाङले बताए।
दीर्घकालीन आम्दानीको स्रोत
डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठका अनुसार जिल्लाका अधिकांश भूभागमा टिमुरखेतीको सम्भावना छ। अग्लो तथा ओसिलो क्षेत्रमा समेत खेती गर्न सकिने भएकाले यसको विस्तारका लागि पर्याप्त सम्भावना रहेको उनले बताए।
‘अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ, तर टिमुरखेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ,’ श्रेष्ठले भने।
एकपटक टिमुरको बोट हुर्काएपछि वर्षौँसम्म त्यसबाट आम्दानी लिन सकिने भएकाले वन्यजन्तुको समस्या भएका क्षेत्रमा टिमुर वैकल्पिक खेतीका रूपमा स्थापित हुँदै गएको छ।
बाँदर र बदेलका कारण परम्परागत अन्नबालीमा क्षति बढिरहेका बेला पाल्पाका किसानले टिमुरखेतीमार्फत त्यसै समस्यालाई सुरक्षित खेती र आम्दानीको अवसरमा बदल्न थालेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्