बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको चालु आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार साँझ राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम भदौ ११ गते बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकमा आजै नियुक्त भएका तीन नवनियुक्त मन्त्रीसमेत सहभागी थिए। सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको स्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने अवधि थप गर्ने निर्णयसमेत गरेको छ। प्रदेशको स्थायी संगठन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक अध्ययन तथा सर्वेक्षणका लागि थप समय उपलब्ध गराउने प्रस्ताव बैठकमा पेस भएको थियो।
त्यस्तै, बैठकले नवनियुक्त मन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ।
कामलाई प्रभावकारी बनाउन निर्देशन
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
उनले विकास निर्माणका कामलाई गति दिन तथा नागरिकलाई प्रदान गरिने सेवा चुस्त, प्रभावकारी र जनमुखी बनाउन मन्त्रीहरूको भूमिका सक्रिय हुनुपर्ने बताए।
मन्त्रालयको जिम्मेवारीअनुसार योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन पनि मुख्यमन्त्री आचार्यले निर्देशन दिएका छन्।
घिमिरे पुनः सरकारको प्रवक्ता
मन्त्रिपरिषद् बैठकले सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेलाई लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ।
घिमिरे यसअघि स्वास्थ्यमन्त्री हुँदा पनि प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारीमा थिए। मन्त्रालय परिवर्तन भएसँगै उनलाई पुनः सरकारको प्रवक्ता तोकिएको हो।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्