काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ। बाढीपछि रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धारका क्रममा हालसम्म ५५ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।
प्रहरीका अनुसार मृतकमध्ये ३१ जना पुरुष र २२ जना महिला छन्। फेला परेका थप दुई शवको भने पहिचान हुन सकेको छैन।
बाढीबाट सबैभन्दा बढी मानवीय क्षति भएका जिल्लामध्ये चितवन र धादिङ अगाडि देखिएका छन्। नदीको तीव्र बहावसँगै बाढी भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदी प्रणालीमा फैलिँदा तल्लो तटीय क्षेत्रमा समेत ठूलो क्षति भएको हो।
कुन जिल्लामा कति शव ?
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म फेला परेका शवको विवरण यस्तो छ :
- रसुवा: १ पुरुष
- नुवाकोट: ५ महिला र ६ पुरुष
- धादिङ: ११ महिला र ५ पुरुष
- चितवन: ५ महिला र १३ पुरुष
- गोरखा: १ महिला र ६ पुरुष तथा पहिचान खुल्न नसकेका २ शव
प्रहरीले फेला परेका शवको सनाखत तथा आफन्तसँग सम्पर्क गराउने प्रक्रिया जारी राखेको जनाएको छ।
९३ घाइतेको उद्धार
बाढीमा परी घाइते भएका ९३ जनाको उद्धार गरिएको छ। उनीहरूलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
उद्धार गरिएकामध्ये:
- रसुवा: ४३ जना
- नुवाकोट: ४७ जना
- धादिङ: ३ जना
रहेका छन्।
अझै यकिन छैन बेपत्ताको संख्या
बाढीले सडक, पुल, बस्ती, बजार तथा सञ्चार संरचनामा ठूलो क्षति पुर्याएकाले प्रभावित क्षेत्रमा पुगेर वास्तविक विवरण संकलन गर्न अझै कठिनाइ भइरहेको छ। कतिपय स्थानमा सडक सम्पर्क टुटेको र सञ्चार सेवा अवरुद्ध भएकाले बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको यकिन संख्या अझै सार्वजनिक हुन सकेको छैन।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई निरन्तरता दिएका छन्। जोखिमपूर्ण तथा सडक सम्पर्कविहीन क्षेत्रमा हेलिकोप्टरमार्फत समेत उद्धार अभियान सञ्चालन भइरहेको छ।
बाढीको असर तल्लो तटीय क्षेत्रमा समेत
रसुवाको उत्तरी सीमाबाट भोटेकोशी नदीमा प्रवेश गरेको अस्वाभाविक बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो विनाश गरेको थियो। त्यसपछि बाढी त्रिशूली नदी हुँदै नुवाकोट र धादिङतर्फ फैलिएको थियो।
मलेखु, मुग्लिन हुँदै चितवन पुगेको बाढीका कारण त्रिशूली तथा नारायणी नदी आसपासका बस्तीमा समेत उच्च सतर्कता अपनाइएको थियो।
बाढीले मानवीय क्षतिसँगै सडक, पुल, विद्युत् आयोजना, सरकारी कार्यालय, भन्सार यार्ड तथा निजी संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। क्षतिको विस्तृत विवरण संकलनको काम भने जारी छ।
खोज तथा उद्धार अभियान अझै जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्