काठमाडौं । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपासमा रहेको विभागले जानकारी दिएको छ।
मौसम पूर्वानुमानअनुसार दिउँसो कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
विभागले रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।
दिउँसो देशभर बादल, केही क्षेत्रमा मेघगर्जनसहित वर्षा
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तथा मधेस प्रदेशसँगै कोसी, वाग्मती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
राति पनि वर्षा जारी रहने
राति पनि देशभर साधारणतया बादल लाग्ने विभागले जनाएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ।
त्यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ।
मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा समेत मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदी तथा खोलाको आसपास बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन, सम्भावित बाढी, पहिरो र डुबानको जोखिमप्रति सचेत रहन आवश्यक देखिन्छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्