बुटवल, ५ वैशाख । दुई महिनाअघि प्रहरीले इन्काउन्टरको नामबाट गुन्डा नाइके मनोज पुन मारिएसगै उनका सहयोगिहरु धमाधम प्रहरीले पक्राउ गर्न थालेको छ । मनोज पुनको जालो तोड्ने अभियानमा लागेको प्रहरीले आज सम्म २३ जनालाई पक्राउ गरि सकेको छ ।
पक्राउ पर्नेमा सत्तारुढ दलका केन्द्रिय सदस्य देखि भातृ संगठनका नेता सम्म परेकाछन् । गुण्डा नाईके मनोज पुनको ईन्काउण्टरसंगै अपराधको जालो तोड्ने क्रममा प्रहरीले तानेको लहरोले ठूलै पहरा भत्कादै गएको छ । रुपन्देही प्रहरीले अपराधकोजालो च्याट्दै जांदा सत्तारुढ दलका केन्द्रिय नेता देखि उच्च घरानाको उद्योगि समेत प्रहरीका फण्डामा परेकाछन् ।
प्रहरीको पछिल्लो सफलता अन्तर्गत पुनका ५ जना सहयोगीलाई रुपन्देही प्रहरीको नियन्त्रणमा आएका छन् । पक्राउ पर्नेमा रुपन्देहीको बुटबल उपमहानगरपालिका–७, शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुल्सी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार–४ घर भइ रुपन्देहीको बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह–६ का रोशन खड्का छन् ।
पक्राउ परेका लेखनाथ माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने उत्तम युथ फोर्सका पूर्व जिल्ला नेता हुन् । पक्राउ परेका हरि श्रेष्ठ मदिरा उद्योगी हुन् । पक्राउ परेका ४ जना मनोजका लागि नेपालमा बसेर काम गर्ने प्रतिनिधी भएका र उद्योगि श्रेष्ठले आफ्नै ब्यवसायीक साझेदारको हत्या गर्न मनोज पुनलाई सुपारी दिएको अभियोगमा पक्राउ परेको प्रहरीले दाबी गरेको छ ।
पक्राउ परेकाहरुले मनोजलाई जिल्लाका उद्योगी व्यवसायीहरुको सम्पूर्ण विवरणहरु उपलब्ध गराउने गरेको रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले जानकारी दिए ।
पुनले पक्राउ परेका ४ जनालाई सुराकीको रूपमा प्रयोग गरेको तथा श्रेष्ठसंग ब्यक्ति हत्याका लागि ९० हजार पेश्की लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले पुनलाई आपराधिक कार्य गर्न प्रोत्साहन गर्ने र आर्थिक सहयोग समेत गर्ने गरेका थिए ।
पक्राउ परेका मध्य केहि ब्यक्तिको पार्टी केन्द्रीय नेताहरुसँग सिधा सम्पर्क हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । जुनसुकै आवरणमा लुक्न खोजेपनि प्रहरीले नछाड्ने प्रहरी उपरिक्षक ज्ञवाली बताउछन् ।
मनोज पुन र उनका सहयोगी सोम आले गत फागुन ९ गते प्रहरी ईन्काउन्टरमा मारिएका थिए । पुनकै योजनामा रुपन्देहीको देवदहका दुर्गा तिवारी र बसन्त पौडेलको हत्या भएको थियो भने झण्डै ६ जना बढीलाई गोलि प्रहार भएको थियो । प्रहरीले यस अघि नै हत्यामा संलग्न श्याम बहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रहरीले पक्राउ गरेकाहरु राजनितीक ब्यक्तिहरु रहेपनि दलका नेताहरुले उनिहरुको संरक्षण नगरेको प्रहरीले बताएको छ । दलको आवरणमा होस वा कुनै शक्तिको आड्मा अपराध कार्यमा संलग्नहरु कानुनको दायरामा आउनै पर्दछ । ईन्काउण्टर संगै प्रहरीले अपराधको जालो तोड्न गरेको प्रयासमा सबैको साथ रहेमात्र अपराध मुक्त समाजको परिकल्पना गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्