काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा उत्पन्न भीषण विपद् प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यका लागि १२ लाख अमेरिकी डलर अर्थात् करिब १८ करोड ९६ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
आइएफआरसीले नेपाल रेडक्रस सोसाइटी तथा सम्बन्धित राष्ट्रिय निकायसँग समन्वय गर्दै प्रभावित समुदायलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन उक्त रकम परिचालन गर्ने जनाएको छ। रेडक्रसका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोलीहरू प्रभावित क्षेत्रमा खोज, उद्धार तथा प्रारम्भिक राहत वितरणमा सक्रिय रहेको पनि जनाएको छ।
तत्काल मानवीय सहायता परिचालन
आइएफआरसीका महासचिव जगन चापागाईँले भोटेकोशी बाढीपछि उत्पन्न मानवीय संकटको प्रतिकार्यलाई सुदृढ बनाउन आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिनुभएको छ।
सामाजिक सञ्जालमार्फत उहाँले नेपाल रेडक्रस र राष्ट्रिय निकायसँग समन्वय गरी आवश्यकताअनुसार थप सहयोगसमेत परिचालन गर्न आइएफआरसी तयार रहेको उल्लेख गर्नुभएको छ।
“आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायहरूसँगको समन्वयमा आवश्यक पर्दा समुदायलाई थप सहयोग परिचालन गर्न तयार छ,” उहाँले उल्लेख गर्नुभएको छ।
खोज, उद्धार र पुनःस्थापनामा खर्च
आइएफआरसीले उपलब्ध गराउने १८ करोड ९६ लाख २२ हजार रुपैयाँ भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत सामग्री वितरण तथा पुनःस्थापना कार्यमा खर्च गरिनेछ।
महासचिव चापागाईँले बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको, धेरै मानिसको ज्यान गएको र केही नागरिक बेपत्ता रहेको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।
बाढी प्रभावित क्षेत्रमा रेडक्रसका स्वयंसेवकहरू निरन्तर परिचालित रहँदै प्रारम्भिक राहत, आवश्यक सामग्री तथा मानवीय सहायता उपलब्ध गराउने कार्यमा जुटिरहेको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्