काठमाडौँ । एसीसी प्रिमियर कपको तयारी गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ। बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गर्यो। यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले डीएल मेथडबाट मलेसियालाई नौ विकेटले हराएको थियो।
नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ४०.१ ओभरमा १४३ रनमा अलआउट भयो। मलेसियाका लागि अकिल वाहिदले ५६ र नाज्मुस सकिबले ५१ रन बनाए। सयाद अजिजले १० रन थपे। बाँकी ब्याटरहरूले दोहोरो अंकको स्कोर गर्न सकेनन्।
मलेसियालाई कम स्कोरमा सीमित गर्न नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए। उनले ५.१ ओभरमा २० रन खर्चिए। सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी र रोहित पौडेलले समान दुई विकेट हात पारे। हेमन्त धामीले एक विकेट लिए।
त्यसअघि, मलेसियाको सेलांगोर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपाल ४१.४ ओभरमा १७० रन बनाउँदै अलआउट भयो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ८६ बल खेल्ने क्रममा ३ चौका र ३ छक्का प्रहार गरे। गुल्सन झाले ४५ रनको योगदान दिए, जहाँ उनले ६० बलमा ४ चौका र ३ छक्का हिर्काए। सन्दीप लामिछानेले १३ रन बनाउँदा ओपनर अर्जुन कुमाल र आशिफ शेख समान १० रन बनाएर आउट भए।
आगामी खेल तालिका
नेपाली टोली अब आइतबारदेखि मलेसियामै एसीसी प्रिमियर कपको तयारी जारी राख्नेछ। नेपाली टोलीले आफ्नो पहिलो औपचारिक खेल मंगलबार साउदी अरबविरुद्ध खेल्नेछ। त्यसपछि, बिहीबार बहराइन र आगामी शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणअन्तर्गत नेपालले मे २२ गते हङकङसँग पनि खेल्ने तालिका छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्