काठमाडौं । भारतको विदेश मन्त्रालयले नेपालको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि २८८ जना भारतीय नागरिक सम्पर्कविहीन भएको जनाएको छ।
भारतको विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता राणधिर जयशवालले नेपालमा आएको बाढीपछि ठूलो संख्यामा भारतीय नागरिक सम्पर्कविहीन भएको जानकारी दिएका हुन्।
“नेपालमा बाढी आएपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन छन्। तीमध्ये ७३ जना त्रिशूली–१ परियोजनामा कार्यरत थिए,” प्रवक्ता जयशवालले भने।
उनका अनुसार सम्पर्कविहीनमध्ये तमिलनाडुका ३७ जना रहेका छन् भने ४९ जनाको दुई समूह कैलाश मानसरोवर यात्रामा रहेको थियो। उनीहरू सम्राट र फ्लाई एभरेष्ट एजेन्सीमार्फत यात्रामा गएको जानकारी दिइएको छ।
त्यस्तै, सम्पर्कविहीन हुनेमा पश्चिम बंगालका ३२ जना, केरलाका ३२ जना तथा अन्य विभिन्न राज्यका ६१ जना भारतीय नागरिक रहेका छन्।
प्रवक्ता जयशवालका अनुसार तमिलनाडुका २१ जनालाई भने बाढी प्रभावित क्षेत्रबाट सुरक्षित रूपमा उद्धार गरिएको छ।
उनले कैलाश मानसरोवर यात्रामा गएका करिब २०० भारतीय नागरिक चीनतर्फ रहेको समेत जानकारी दिएका छन्।
त्रिशूली–१ परियोजनामा कार्यरत तथा कैलाश मानसरोवर यात्रामा रहेका भारतीय नागरिक सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल सरकारसँग निरन्तर समन्वय भइरहेको भारतको विदेश मन्त्रालयले जनाएको छ।
भारतले प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकको अवस्थाबारे जानकारी संकलन गर्ने तथा सम्पर्कविहीनहरूको खोजी कार्यलाई निरन्तरता दिन सम्बन्धित नेपाली निकायसँग समन्वय गरिरहेको प्रवक्ता जयशवालले बताएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्