धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा तत्काल तीन जना पदाधिकारी नियुक्त गर्ने तयारी गरेको छ। उपाध्यक्षसहित पाँच सदस्यीय आयोगमा अहिले उपाध्यक्ष र दुई सदस्य नियुक्त गर्ने सरकारको तयारी छ।
शुक्रबार बिहान ८ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकमा आयोगको उपाध्यक्षमा कञ्चनपुरका गोकर्ण भट्ट तथा सदस्यमा दार्चुलाका गंगादत्त जोशी र कञ्चनपुरका हिरा चन्दलाई नियुक्त गर्ने प्रस्ताव रहेको छ।
सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले दुई सदस्य तथा सरकारको नेतृत्व गरिरहेको नेकपाले उपाध्यक्षसहित थप दुई सदस्य पाउने गरी यसअघि सहमति भएको थियो। एमालेले दुई सदस्यका लागि चार दिनअघि नै नाम सिफारिस गरिसकेको छ।
नेकपाले उपाध्यक्ष र दुई सदस्यको नाम टुंगो लगाउन नसक्दा आयोग गठनमा ढिलाइ हुँदै आएको थियो। पाँच सदस्यीय नीति तथा योजना आयोगमा कम्तीमा एक जना महिला अनिवार्य रहने व्यवस्था छ। एमालेले दुई पुरुषको नाम सिफारिस गरेपछि नेकपाले महिला प्रतिनिधित्व सुनिश्चित हुने गरी बाँकी सदस्यको नाम टुंग्याउनुपर्ने अवस्था आएको हो।
सरकारले तत्काल उपाध्यक्ष र दुई सदस्य नियुक्त गर्ने तयारी गरेको छ। त्यसपछि नियुक्त हुने बाँकी दुई सदस्यमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था कार्यान्वयन गरिनेछ।
मुख्यमन्त्री खगराज भट्टले यसअघि आयोगका सबै पदाधिकारी र सदस्यलाई एकैपटक नियुक्त गर्ने प्रयास गरेका थिए। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक साँझ ६ बजेका लागि सारिएको थियो। तर, अब तत्काल उपाध्यक्षसहित दुई सदस्य मात्रै नियुक्त गरी बाँकी दुई सदस्य पछि नियुक्त गर्ने तयारी गरिएको छ।
आजै आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यलाई शपथ गराउने तयारीसमेत भएको बताइएको छ।
यसअघि साउन २८ गते तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि गठन आदेशअनुसार सोही दिनदेखि प्रदेश नीति तथा योजना आयोग पदाधिकारीविहीन बनेको थियो। दुई सातादेखि आयोग नेतृत्वविहीन हुँदा बजेट निर्माण प्रक्रिया समेत प्रभावित भएको बताइएको छ।
अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसक्दा प्रदेश अहिले बजेटशून्यताको अवस्थामा रहेको छ। त्यसमाथि नीति तथा योजना आयोगसमेत नेतृत्वविहीन हुँदा आगामी बजेट निर्माण तथा योजना तर्जुमा प्रक्रियामा थप ढिलाइ भइरहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्