धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक महिनाको अवधिमा लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा १६० जना पक्राउ परेका छन्।
प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १५६ पुरुष र चार महिला गरी १६० जनालाई विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ गरिएको हो।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार साउन महिनाभर लागुऔषधसम्बन्धी १०१ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले एक महिनाको अवधिमा ३१४ ग्राम ७९१ मिलिग्राम चरेस, १५९ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन तथा ६६३ ग्राम गाँजा बरामद गरेको जनाएको छ।
प्रवक्ता विष्टका अनुसार प्रदेशका विभिन्न जिल्लामा लागुऔषध नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा परिचालन भइरहेको छ। पक्राउ परेकामध्ये केही व्यक्ति लागुऔषधको ओसारपसार र कारोबारमा संगठित रूपमा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लागुऔषधको बढ्दो प्रयोग र कारोबार नियन्त्रणका लागि सीमा नाका, सहरी क्षेत्र तथा जोखिमयुक्त स्थानमा निगरानी र सुरक्षा जाँचलाई थप प्रभावकारी बनाइएको प्रदेश प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्