काठमाडौँ । सरकारले रसुवागढी तथा भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित व्यक्तिहरूको पुनःस्थापनाका लागि सहुलियतपूर्ण पुनःस्थापना प्याकेज निर्माण गर्ने निर्णय गरेको छ।
शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई पुनःस्थापना प्याकेज तयार गर्न निर्देशन दिएको जानकारी दिनुभयो।
त्यस्तै, मन्त्रिपरिषद्ले भारत सरकारसँग ‘जीटुजी’ माध्यमबाट २५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। प्रवक्ता पोखरेलका अनुसार यसले आगामी दिनमा मलको आपूर्ति सहज बनाउन सहयोग पुग्नेछ।
यसैगरी, भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रको रसुवागढी तथा भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
सरकारले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन कोषमा थप स्रोत उपलब्ध गराउने उद्देश्यले मन्त्रिपरिषद् सदस्यहरूको एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्