काठमाडौं । भारतको विदेश मन्त्रालयमा शुक्रबार नेपालको पछिल्लो बाढीपछिको अवस्था तथा जारी उद्धार र राहत कार्यबारे समीक्षा गरिएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरको नेतृत्वमा बसेको बैठकमा भदौ १० गते आएको विनाशकारी बाढीपछि नेपालमा विकसित परिस्थितिबारे छलफल भएको हो।
विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत नेपालमा जारी राहत तथा उद्धार प्रयासबारे समीक्षा गरिएको जानकारी दिएका छन्। काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्थाबारे बैठकमा अद्यावधिक जानकारी प्रस्तुत गरेको उनले बताएका छन्।
बैठकमा भारतबाट नेपाल पठाउनुपर्ने थप राहत तथा आवश्यक सामग्रीबारे पनि सम्बन्धित शाखाले जानकारी गराएको जयशंकरले उल्लेख गरेका छन्।
‘हामी यस विषयलाई उच्च प्राथमिकता दिन्छौँ,’ उनले भनेका छन्।
भारतको विदेश मन्त्रालयमा बिहीबार पनि नेपालको बाढीपछिको अवस्थाबारे समीक्षा बैठक बसेको थियो।
भारतले बाढी प्रभावित नागरिकका लागि बुधबार र बिहीबार गरी दुई खेपमा ४७ दशमलव ५ टन राहत तथा मेडिकल सामग्री नेपाल पठाइसकेको छ।
भारतीय सरकारले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने राहत सामग्री उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ। साथै, काठमाडौं र बेइजिङस्थित आफ्ना दूतावासमार्फत भारतीय नागरिकको अवस्था र उद्धारसम्बन्धी जानकारी निरन्तर लिइरहेको भारतको विदेश मन्त्रालयले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्