भोटेकोसी बाढीपछि अर्को जोखिम : संक्रामक रोग फैलिने खतरा
काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय र भौतिक क्षतिको पीडा अझै कम भएको छैन। रसुवा, नुवाकोट, धादिङलगायत प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव व्यवस्थापन र राहत वितरणको काम जारी छ। तर, बाढीपछि अब संक्रामक रोग फैलिन सक्ने जोखिम समेत बढेको स्वास्थ्य विज्ञहरूले बताएका छन्।
बाढीले घर, बस्ती, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याउनुका साथै खानेपानीका मुहान, पाइपलाइन, ट्यांकीलगायत स्रोतमा फोहोर तथा दूषित पदार्थ मिसिने अवस्था सिर्जना गरेको छ। कतिपय प्रभावित विस्थापित भएर अस्थायी संरचना वा खुला ठाउँमा बस्न बाध्य छन्।
त्यसमाथि शव व्यवस्थापन, फोहोरमैला र सरसफाइको चुनौती थपिँदा संक्रमणजन्य रोग फैलिने जोखिम बढ्न सक्ने विज्ञहरूको भनाइ छ।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार प्राकृतिक विपत्तिपछि संक्रमणको जोखिम बढ्नु स्वाभाविक हो। ठूलो मानवीय क्षति र लामो समयसम्म विस्थापनको अवस्था रहेमा जोखिम झन् बढ्न सक्ने उहाँ बताउनुहुन्छ।
“ठूलो मानवीय क्षति, शव व्यवस्थापनमा देखिएको चुनौती, फोहोरमैला थुप्रिने तथा सड्ने–गल्ने अवस्था र विस्थापितहरू लामो समयसम्म अस्थायी शिविरमा बस्नुपर्ने परिस्थितिले संक्रामक रोगको जोखिम बढाउन सक्छ,” डा. पुनले भन्नुभयो।
दूषित पानीबाट झाडापखालाको जोखिम
बाढीपछि तत्काल देखिन सक्ने स्वास्थ्य जोखिममध्ये दूषित पानी र खानेकुराबाट फैलिने संक्रमण प्रमुख रहेको डा. पुन बताउनुहुन्छ।
बाढीको पानीले घर, शौचालय, फोहोर तथा अन्य दूषित पदार्थ बगाएर खानेपानीका मुहान, पाइपलाइन, ट्यांकी वा अन्य स्रोतमा मिसाउन सक्छ। यस्तो पानी प्रशोधन नगरी पिउँदा वा खाना पकाउन प्रयोग गर्दा पानीजन्य रोग फैलिन सक्छ।
दूषित पानी तथा अस्वच्छ खानेकुराका कारण झाडापखाला लगायतका संक्रमणको जोखिम बढ्छ। बाढी प्रभावित क्षेत्रमा बालबालिका, वृद्धवृद्धा तथा अन्य कमजोर समूह बढी जोखिममा पर्न सक्छन्।
पानी घटे पनि लामखुट्टे र किराको जोखिम
बाढीको पानी घट्दैमा स्वास्थ्य जोखिम पूर्ण रूपमा समाप्त नहुने विज्ञहरूको भनाइ छ। विभिन्न ठाउँमा पानी जमिरहँदा लामखुट्टेको प्रजनन बढ्न सक्छ।
त्यस्तै, घरबार गुमाएका वा घरमा बस्न नसक्ने मानिसहरू खुला ठाउँ, अस्थायी संरचना वा झाडी आसपास बस्नुपर्ने अवस्था आउन सक्छ। यस्तो अवस्थामा विभिन्न किराको सम्पर्क बढ्दा संक्रमणको जोखिमसमेत बढ्छ।
२०७२ सालको भूकम्पपछिको अवस्थालाई स्मरण गर्दै डा. पुनले बाढीपछि पनि स्क्रब टाइफसको जोखिम हुन सक्ने बताउनुभयो।
“२०७२ सालको भूकम्पपछि खुला स्थानमा बस्दा मानिसहरूमा स्क्रबटाइफस देखिएको थियो। बाढीपछि मानिसहरू घरबाहिर तथा अस्थायी स्थानमा बस्न बाध्य हुँदा माइटलगायत किराको सम्पर्कमा आउने सम्भावना बढ्छ। त्यसैले टाइफसको संक्रमण पनि बढ्न सक्छ,” उहाँले भन्नुभयो।
बाढीका कारण विस्थापित परिवारको मानसिक स्वास्थ्यमा समेत ध्यान दिनुपर्ने उहाँको सुझाव छ।
शव व्यवस्थापनमा सावधानी आवश्यक
बाढी प्रभावित क्षेत्रमा समय बित्दै जाँदा मानिस तथा पशुका शव कुहिन थालेपछि दुर्गन्ध, वातावरणीय प्रदूषण र सरसफाइको समस्या बढ्न सक्छ।
तर शवकै कारण अनिवार्य रूपमा ठूलो महामारी फैलिन्छ भन्ने बुझाइभन्दा शवलाई सुरक्षित र व्यवस्थित रूपमा व्यवस्थापन गर्ने, खानेपानी तथा खाद्य स्रोत दूषित हुन नदिने र सरसफाइ कायम गर्ने विषय बढी महत्वपूर्ण हुने चिकित्सकहरू बताउँछन्।
बाढीमा पशुचौपायाको समेत क्षति भएको हुनसक्ने भएकाले मृत पशुको व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्ने अवस्था छ।
उद्धार र राहतलाई प्राथमिकता दिनु स्वाभाविक भए पनि त्यससँगै स्वास्थ्य निगरानी सुरु नगरे संक्रमण फैलिएको अवस्थामा नियन्त्रण गर्न कठिन हुन सक्ने विज्ञहरूको चेतावनी छ।
प्रभावित नागरिकले के गर्ने ?
स्वास्थ्य विज्ञहरूले बाढी प्रभावित नागरिकलाई केही आधारभूत सावधानी अपनाउन आग्रह गरेका छन्।
- सफा तथा सुरक्षित पानी मात्र पिउने।
- सम्भव भएसम्म पानी उमालेर वा सुरक्षित विधिबाट शुद्धीकरण गरेर प्रयोग गर्ने।
- बासी वा दूषित खानेकुरा नखाने।
- साबुनपानीले नियमित हात धुने।
- खुला ठाउँमा दिसापिसाब नगर्ने।
- फोहोर जथाभावी नफाल्ने।
- लामखुट्टे तथा अन्य किराको टोकाइबाट बच्ने।
- झाडी तथा अत्यधिक ओसिलो क्षेत्रमा लामो समय नबस्ने।
त्यस्तै, ज्वरो, झाडापखाला, बान्ता, शरीर दुख्ने, छालामा समस्या वा अन्य असामान्य लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा पुग्नुपर्ने चिकित्सकहरूको सुझाव छ।
डा. पुनका अनुसार तत्काल उद्धार र राहतसँगै सुरक्षित खानेपानी, शौचालय तथा सरसफाइमा विशेष जोड दिनुपर्छ। मध्यकालमा स्वास्थ्य परीक्षण तथा उपचारलाई प्राथमिकता दिनुपर्ने हुन्छ भने दीर्घकालमा विपद्पछिको स्वास्थ्य जोखिम व्यवस्थापनका लागि स्थायी प्रणाली विकास गर्न आवश्यक छ।
Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्