काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीको उद्धारका लागि प्रयास जारी रहे पनि सोमबार बिहान गरिएको ‘क्राउन ब्लास्ट’ सफल हुन सकेको छैन।
उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सोमबार बिहान करिब ३ बजे सुरुङको माथिल्लो भाग (क्राउन) मा ब्लास्ट गरिएको थियो। तर, सुरुङभित्र प्रवेश गर्न सकिने अवस्था बन्न सकेन।
न्यौपानेका अनुसार सुरुङको क्राउन पूरै पानीले भरिएको छ। सुरुङको मुख खोल्ने काम भने निरन्तर भइरहेको छ।
उनले सामाजिक सञ्जालमार्फत क्राउन ब्लास्ट गरे पनि भित्र पस्ने प्रयास सफल हुन नसकेको जानकारी दिएका हुन्।
यसअघि भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको थियो। बाढीपछि आयोजनाको सुरुङभित्र केही कर्मचारी फसेका छन्।
उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक र विशेषज्ञ टोली घटनास्थलमा परिचालन भएका छन्। सुरुङभित्रको पानी र अवरोधका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्