काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि गरिएको प्रयास अझै सफल हुन सकेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेका अनुसार गएराति करिब ३ बजे सुरुङको माथिल्लो भागमा ‘क्राउन ब्लास्ट’ गरेर भित्र प्रवेश गर्ने प्रयास गरिए पनि सम्भव हुन सकेन।
“राति करिब ३ बजे ‘क्राउन ब्लास्ट’ गरियो। भित्र पस्ने आशा असम्भव भयो। सुरुङको क्राउन पूरै पानीले भरिएको छ,” न्यौपानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनका अनुसार सुरुङको मुख खोल्ने काम भने निरन्तर जारी छ।
सुरुङभित्र प्रवेश गर्न अवरोध बनेको संरचना हटाउने काम सम्पन्न भए पनि पानीको सतह अत्यधिक भएकाले उद्धारकर्तालाई भित्र पस्न कठिनाइ भएको छ।
उद्धारका लागि नेपाल विद्युत् प्राधिकरणका विज्ञ तथा प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मी घटनास्थलमा खटिएका छन्।
भदौ १२ गतेदेखि अस्थायी रूपमा घटनास्थलमा बसेर उद्धारमा जुटेको विशेषज्ञसहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गर्दै सुरुङको ‘क्राउन हेड’ फेला पारेको थियो।
नेपाली सेनाका अनुसार होलबाट गरिएको निरीक्षणमा करिब ७ मिटर व्यासको सुरुङमा धेरै माथिसम्म पानी भरिएको देखिएको छ। पानीको सतह र सुरुङभित्रको अवस्थाका कारण उद्धार थप चुनौतीपूर्ण बनेको छ।
यस आयोजनामा बाढीपछि ४२ जना सम्पर्कविहीन रहेको बताइएको छ। उद्धार टोलीले उनीहरूको खोजीका लागि विभिन्न प्रविधि र उपकरण प्रयोग गर्दै प्रयास जारी राखेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्