काठमाडौं । कप्तान सन्दीप लामिछानेको घातक बलिङसँगै नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा बहराइनलाई ८७ रनमै अलआउट गरेको छ। बहराइनले नेपालसामु जितका लागि ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमै समेटिएको हो।
बहराइनका लागि फैज अहमदले १५, मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सन्दीपको उत्कृष्ट पाँच विकेट
नेपालका कप्तान सन्दीपले १० ओभरमा चार मेडनसहित १४ रन खर्चेर पाँच विकेट लिए। उनको बलिङले बहराइनको इनिङ्सलाई सुरुदेखि नै दबाबमा राख्यो।
सन्दीपलाई ललितनारायण राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिएर उत्कृष्ट साथ दिए।
सन्दीपले नेपालकै कप्तानीमा पुनरागमन गरेपछि यो उनको पहिलो आधिकारिक खेल हो। नेपाल क्रिकेट संघ (क्यान)ले गत महिना रोहितकुमार पौडेललाई हटाउँदै सन्दीपलाई पुनः एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो।
अब नेपालले ८८ रनको लक्ष्य पछ्याउँदै प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यसहित ब्याटिङ गर्नेछ। नेपाल यस प्रतियोगितामा दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्यसहित मैदानमा उत्रिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्