काठमाडौं । सरकारले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित भएका ३८ देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ।
सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावाससँग समन्वय गरी विदेशी नागरिकको अवस्थाबारे तथ्यांक संकलन भइरहेको जानकारी दिए।
टनेल रेस्क्यु टोली र आधुनिक प्रविधि माग
प्रवक्ता पौडेल क्षेत्रीका अनुसार सरकारले विपद्पछिको खोज, उद्धार तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोग माग गरेको छ।
विशेषगरी सुरुङभित्र हुनसक्ने उद्धारका लागि दक्ष टनेल रेस्क्यु टोली, पुरिएका शव पत्ता लगाउन आईएसएआर (ISAR) जस्ता आधुनिक प्रविधितथा शव सुरक्षित राख्न थप फ्रिजर आवश्यक रहेको उनले बताए।
“हामीलाई सुरुङमार्गमा हुनसक्ने उद्धारका लागि दक्ष टनेल रेस्क्यु टोली, पुरिएका शवहरू फेला पार्न आईएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजरहरूको आवश्यकता छ,” उनले भने।
उनका अनुसार केही फ्रिजर प्राप्त भइसकेका छन् भने थप फ्रिजर आउने क्रममा छन्।
डीएनए परीक्षणका लागि पनि सहयोग माग
बाढीमा मृत्यु भएकाहरूको पहिचानका लागि फरेन्सिक सहयोग, डीएनए परीक्षण गर्ने उपकरण तथा आवश्यक किट्स उपलब्ध गराउन समेत अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरिएको मन्त्रालयले जनाएको छ।
सरकारले तत्कालका लागि उद्धार तथा राहतमा आवश्यक सामग्रीको पहिचान गरी सहयोग जुटाउने काम गरिरहेको छ।
दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाका लागि भने ‘विपद्पछिको आवश्यकता मूल्यांकन’ (Post-Disaster Needs Assessment) सम्पन्न भएपछि मात्र आवश्यक सहयोगको विस्तृत खाका तयार गरिने प्रवक्ता पौडेल क्षेत्रीले स्पष्ट पारे।
सरकारले अन्तर्राष्ट्रिय सहयोगलाई तत्कालीन उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनामा समेत प्रभावकारी रूपमा परिचालन गर्ने तयारी गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


प्रतिक्रिया दिनुहोस्