काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्षसहित चार जना जनप्रतिनिधि भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।
गाउँ कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार सम्पर्कविहीन हुनेमा वडा नं. २ का वडाध्यक्ष कामी छिरिङ तामाङ, वडा सदस्य कामी सेदार घले, वडा सदस्य सोनाम छिरिङ घले र दलित महिला वडा सदस्य लक्ष्मी परियार रहेका छन्।
बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको घलेले जानकारी दिए। उनीहरूको खोजी तथा अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी छ।
१६० बाढीपीडित काठमाडौंमा आश्रयमा
यसैबीच, गोसाइँकुण्ड गाउँपालिकाका करिब १६० जना बाढीपीडितलाई उद्धार गरी काठमाडौंको सानोभर्याङस्थित येल्लो गुम्बामा राखिएकोघलेले बताए।
उद्धार गरिएका पीडितले तत्काल राहत र आश्रय पाए पनि उनीहरूको दीर्घकालीन व्यवस्थापन ठूलो चुनौती बनेको उनको भनाइ छ।
“हामी अहिले राहत र उद्धारमा छौँ तर पछि के गर्ने भन्ने चिन्ताले पिरोलिएका छौँ,” घलेले भने।
बाढीबाट घर, पूर्वाधार तथा जीविकोपार्जनका साधनमा क्षति पुगेपछि विस्थापित भएकाहरूको पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनका लागि सरकारको ठोस योजना आवश्यक रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्