काठमाडौं । नेपालमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् तथा नेपाली समुदायले राहत संकलन अभियान तीव्र बनाएका छन्।
मातृभूमिमा परेको विपद्मा सहयोग गर्ने उद्देश्यले अफ्रिकाका विभिन्न देशमा रहेका नेपालीले सञ्चालन गरेको अभियानबाट हालसम्म लाखौँ रुपैयाँ सहयोग संकलन भइसकेको जनाइएको छ।
एनआरएनए नाइजेरियाले हालसम्म १८ लाख रुपैयाँ सहयोग संकलन गरेको छ भने एनआरएनए कंगोले १३ लाख रुपैयाँ संकलन गरेको जनाएको छ। त्यस्तै, एनआरएनए घानाले एक लाख ५० हजार रुपैयाँ सहयोग संकलन गरिसकेको छ।
युगान्डाबाट १० हजार डलरभन्दा बढी सहयोग
केन्या, सेसेल्स, तान्जानिया, दक्षिण अफ्रिका, रुवान्डालगायत अफ्रिकी मुलुकमा रहेका एनआरएनए शाखा तथा नेपाली समुदायसमेत राहत संकलन अभियानमा सक्रिय भएका छन्। ती देशमा व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग संकलन भइरहेको जनाइएको छ।
एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालले नेपालका बाढीपीडितका लागि १० हजार १०१ अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेकी छन्।
अफ्रिकामा रहेका नेपाली समुदायले विपद्को समयमा मातृभूमिप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो क्षमताअनुसार सहयोग गरिरहेको एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाले बताए।
उनका अनुसार अफ्रिकाबाट संकलित सहयोग रकम नेपाल सरकारलाई हस्तान्तरण गरी बाढीपीडितको राहत तथा पुनर्स्थापनामा प्रयोग गरिनेछ।
बाढीबाट प्रभावित नागरिकको तत्काल राहतसँगै पुनर्स्थापनाका लागि आवश्यक स्रोत जुटाउन विश्वभर रहेका नेपाली समुदायलाई समेत सक्रिय बनाउने प्रयास भइरहेको एनआरएनएले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्