काठमाडौं । भारतको उड्डयन क्षेत्र पछिल्लो समय सुरक्षा, वित्तीय अवस्था र नियामकीय कमजोरीका कारण गम्भीर संकटमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतको हवाई बजारमा एयर इन्डिया र इन्डिगोको संयुक्त बजार हिस्सा करिब ९० प्रतिशत पुगेको भन्दै विज्ञहरूले बजारमा बढ्दो एकाधिकार, सुरक्षा मापदण्डमा कमजोरी र एयरलाइन्सहरूको बढ्दो घाटाप्रति चिन्ता व्यक्त गरेका छन्। एएफपीका अनुसार केही उड्डयन विज्ञले सन् २०२५ र २०२६ लाई भारतीय उड्डयन इतिहासकै कठिन अवधिका रूपमा चित्रण गरेका छन्।
लगातार विमान दुर्घटना र सुरक्षा प्रश्न
भारतीय उड्डयन क्षेत्रमाथि सुरक्षा प्रश्न उठाउने घटनाहरू पछिल्लो समय बढेका छन्।
एक महिनाअघि फुकेतबाट नयाँदिल्ली आउँदै गरेको एयर इन्डियाको विमान अचानक करिब ३०० फिट तल झर्दा २४ यात्रु घाइते भएका थिए। उक्त घटनामा विमानका पाइलटले गाँजा सेवन गरेको विषयसमेत विवादमा आएको थियो।
त्यसअघि अहमदाबादबाट लन्डनका लागि उडेको बोइङ ७८७ ड्रीमलाइनर दुर्घटनामा २४१ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनापछि एयर इन्डियाको सुरक्षा व्यवस्थामाथि थप प्रश्न उठेको हो।
संसदीय समितिको प्रतिवेदनमा एयर इन्डियाभित्र १०० भन्दा बढी सुरक्षा त्रुटि औँल्याइएको तथा बोइङ ७८७ र ७७७ का पाइलटको तालिममा समेत गम्भीर लापरबाही देखिएको उल्लेख गरिएको छ। यसले कम्पनीको समग्र सुरक्षा संस्कृतिमाथि प्रश्न उठाएको छ।
इन्धन महँगिँदा बढ्यो आर्थिक दबाब
भारतीय एयरलाइन्सहरूलाई सुरक्षा चुनौतीसँगै आर्थिक दबाबसमेत बढेको छ।
पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गर्नु तथा पश्चिम एसियामा जारी युद्धका कारण उडान मार्ग लम्बिनु र इन्धनको मूल्य बढ्नुले एयरलाइन्सहरूको सञ्चालन लागत बढाएको बताइएको छ।
रेटिङ एजेन्सी आईसीआरएका अनुसार चालु आर्थिक वर्षमा भारतीय एयरलाइन्सहरूले करिब ४ अर्ब अमेरिकी डलर घाटा बेहोर्ने अनुमान गरिएको छ।
एयर इन्डियाको घाटा २.३ अर्ब डलरभन्दा बढी पुगेको बताइएको छ भने भारतको प्रमुख निजी एयरलाइन्स इन्डिगो पनि लगातार दुई त्रैमासिकमा घाटामा गएको जनाइएको छ।
नियामकको भूमिकामाथि पनि प्रश्न
भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) को भूमिकामाथि समेत विज्ञहरूले प्रश्न उठाएका छन्।
नियामक निकायले कडा निगरानी र सुरक्षा मापदण्ड कार्यान्वयन गराउनुपर्नेमा ‘नियामक’भन्दा ‘सहजीकरणकर्ता’को भूमिकामा बढी केन्द्रित भएकोआरोप विज्ञहरूले लगाएका छन्।
पछिल्लो दुई दशकमा भारतका सात प्रमुख एयरलाइन्स बन्द हुनु वा बिक्री हुनुले बजारमा प्रतिस्पर्धा कमजोर हुँदै गएको र केही ठूला कम्पनीको प्रभुत्व बढेको विश्लेषण गरिएको छ।
पाँच ठूला एयरलाइन्स आवश्यक
भारतीय सरकारले देशको उड्डयन बजारमा कम्तीमा पाँचवटा ठूला एयरलाइन्स आवश्यक रहेको बताउँदै नयाँ लगानीकर्ता आकर्षित गर्ने प्रयास गरिरहेको छ।
तर उच्च सञ्चालन लागत, विमानस्थल तथा अन्य पूर्वाधारसम्बन्धी समस्या, सुरक्षा चुनौती र कमजोर प्रतिस्पर्धाका कारण भारतीय उड्डयन क्षेत्रको आगामी यात्रा अझै चुनौतीपूर्ण रहेको विश्लेषण गरिएको छ।
भारत विश्वकै तीव्र गतिमा विस्तार भइरहेको हवाई बजारमध्ये एक भए पनि बजारको तीव्र विस्तारसँगै सुरक्षा, नियमन र वित्तीय स्थायित्व कायम गर्न नसके ठूलो संकट निम्तिन सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्