काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालका बाढीपहिरो प्रभावित नागरिकका लागि ८३ टन आपत्कालीन राहत सामग्री पठाएको छ। यूएई सहायता एजेन्सीमार्फत खाद्यान्न, अस्थायी आश्रय सामग्री तथा अन्य अत्यावश्यक मानवीय सहायता बोकेको विमान नेपाल पठाइएको हो। यूएईका अनुसार हालै नेपालका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित मृतकका परिवार, घाइते, बेपत्ताका आफन्त तथा घरबारविहीन बनेका नागरिकलाई लक्षित गरी उक्त सहायता पठाइएको हो। यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा बाढीपहिरो प्रभावितको उद्धार, प्रारम्भिक पुनःस्थापना तथा राहतका लागि १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५२ करोड रुपैयाँ) सहयोग घोषणा गरिएको थियो। सोही सहयोगअन्तर्गत आपत्कालीन राहत सामग्री नेपाल पठाइएको यूएईले जनाएको छ। यस राहतले विपद्बाट प्रभावित सबै उमेर समूहका नागरिकलाई तत्काल आवश्यक आधारभूत सामग्री उपलब्ध गराउन सहयोग पुग्ने यूएईको विश्वास छ। नेपालस्थित यूएई दूतावास र सहायता एजेन्सीले स्थानीय तहसँग समन्वय गरी राहत सामग्री प्रभावित तथा वास्तविक पीडितसमक्ष छिटो पुर्याउने जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्